सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुई हप्ता बित्न नपाउँदै इन्धनको मुल्य बृद्धि

दुई हप्ता बित्न नपाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ ।

यसअघि निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको थियो । बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको दाबी जानकारी दिएका छन । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा छ । त्यस्तै, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा रहेको छ । मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा छ भने हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे निगमले जनाएको छ ।

खाना पकाउने एलपीजी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा रहेको छ । डिजेल र खाना पकाउने ग्यासको विक्री अत्यधिक हुँदा पनि घाटा चुलिएको निगमले जनाएको छ । मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्