सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कुखुरा पालेरै लाख कमाउँदै २४ बर्षिय युवा

पढाइ सकेपछि हातमा प्रमाणपत्र लिएर जागिर खोज्न भौँतारीएर हिँड्नेको लर्को देशमा ठूलो छ । तर, जागिरतिर नलागी खेती र पशुपालन गरेर मनग्य आम्दानी गर्नेहरु पनि यही समाजमा छन् । त्यस्तै एउटा नाम हो, सुजन न्यौपाने ।

नेपालमा केहि काम छैन भन्नेहरुका लागि उदाहरणीय बनेका छन, तानसेन–८ का सुजन न्यौपाने । कुखुरा फार्मका सञ्चालक न्यौपाने उमेरले भर्खर २४ लागे । यो उमेरमा कलेज जाने र बाँकी समय बेकामे भएर बस्ने युवा गाउँसमाजमा प्रशस्तै छन् ।

सुजनलाई भने पाल्पाको मदनपोखरामा किराना पसल तथा फोटो स्टुडियो खोल्न जानुअघि कुखुरालाई दानापानी खुवाउने चटारो हुन्छ । कुखुरापालनबाटै उनी महिनामा सबै खर्च कटाएर एक लाख रुपैयाँभन्दा बढी कमाउँछन् ।

उनको फार्ममा साना–ठूला गरी दुई हजारभन्दा बढी ब्रोइलर कुखुरा छन् । दुई वर्षअघि उनले यो व्यवसाय शुरु गरेका हुन् । मासुका लागि पालिने विकासे प्रजातिको कुखुरामा धेरै रोग लाग्ने र मर्ने भए पनि निरन्तर मिहिनेत गर्दै जाँदा सफल भइने उनको अनुभव छ ।

दाइले विदेशमा दुःख गरेर कमाएको पैसा स्वदेशमै लगानी गर्दा फाइदा हुने देखेर कुखुरापालन थालेको न्यौपानेले बताएका छन । न्यौपानेले भने–‘दाइले गरेको दुःख र आफन्तसँग छुट्टएिर कमाएको पैसाले राम्रै प्रतिफल दिएको छ ।’

उनका दाइ रञ्जित हाल मलेसियामा छन् । दाइ फर्केर आएपछि मिलेर अँझै व्यवस्थित तरिकाले पाल्ने उनको सोच छ । सुजनको व्यवसाय सफल हुनुमा बाबु खेमराज, आमा र बहिनीको पनि निकै मिहिनेत परेको छ ।

स्नातक तेस्रो वर्ष अध्ययनरत उनले समाजशास्त्र र पत्रकारिता पनि पढ्ने सुर गरेका छन् । पढ्दै गर्दा उनले पनि कमाइका लागि विदेश जाने सोच नबनाएका होईनन । धेरैपल्ट विदेश जाने प्रयास पनि गरे तर पछि आफ्नै गाउँघरमा दुःख गर्ने निर्णय लिए ।

कुखुरा फार्मको काम गर्दा अलि फोहोर भए पनि दाम राम्रो कमाउन सकिने उनको अनुभव छ । न्यौपानेले भने–‘सस्तोमा प्रोटिनका लागि अझै १० वर्ष कुखुराको मासुको विकल्प छैन । बरु कुखुरामा विभिन्न रोग देखिन थालेका छन । बाहिरी वातावरणले असर नगर्ने गरी एयरकन्डिसनमा कुखुरापालन गर्ने क्लोजिङ हाउस चाहिने भएको छ ।’

शुरु–शुरुमा उनी धेरै कुखुरा मरेर हैरान भएका थिए । घाटा पनि बेहोरे । तर, काम गर्दै गएपछि राम्रो हुन्छ भनेर कामलाई निरन्तरता दिए । निरन्तर मेहनत र काममा खटिनेका लागि कुखुरापालन व्यवसायबाट निकै राम्रो कमाई हुने माध्यम भएको न्यौपानेको अनुभव छ ।

थोरै जग्गा र कम लगानीमै व्यवसाय कुखुरा पालन व्यवसाय सञ्चालन गर्न सकिने उनको भनाइ छ । वर्षमा सात पटकसम्म कुखुरा बेच्न सकिने उनले बताएका छन । अहिले उनको अनुशरण गर्दै बिभिन्न उद्यमशिल काम गर्ने युवाहरुको संख्या बढ्दो छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्