सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बर्ष २०१७ मा घटेका नेपालका चर्चित १० घटना

आज अंग्रेजी वर्ष २०१७ को अन्तिम दिन हो । त्यसो त, हामीले २०१७ लाई विदाई गर्दै छौं । सन् २०१७ संसारभर केही घटनाक्रम र परिणामहरुका कारण उच्च चर्चामा रह्यो ।

नेपालमा पनि सन् २०१७ मा विभिन्न घटनाहरु चर्चित बने । अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत गर्दै गर्दा हामीले २०१७ मा नेपालमा भएका केही चर्चित घटनाहरु प्रस्तुत गर्दै छौं । जुन यसप्रकार छन्;

१. माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालको रहस्यमय मृत्यु भयो । यो घटनाले सबै त्रसित भए । लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको थियो ।

तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल चुनावको लागि प्रचण्ड झापातिर लागेपछि त्यता नगइकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी त्यो रात लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।

पारिवारिक स्रोतका अनुसार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी बिना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन् । आमा सीता दाहाल र भाञ्जीहरु मात्रै थिए । त्यही रात उनको मृत्यु भयो ।

२. फेब्रुअरी १२ मा सरकारले जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्यो । आईजीपीका दाबेदार ४ डिआईजी मध्येमा वरियताक्रममा तेस्रो नम्बरका चन्दलाई आईजीपीमा नियुक्त गरेपछि ठूलै खैलाबैला मच्चियो । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अर्याल रहेका थिए ।

रोलक्रम तथा नियम मिचेरै चन्दलाई सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा प्रहरी प्रमुख आईजीपी बनाइएका थिए । तर, धेरै नै विवाद आएपछि सरकारले दोस्रो नम्बरमा रहेका प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गर्यो । हाल अर्याल नै आईजीपी छन् ।

३. स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । देश संघीयतामा गएको छ । यसले सम्पूर्ण नेपालीहरु खुसी छन् । सामाजिक सञ्जालमा तीनवटै निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले बधाई समेत दिएका छन् ।

स्थानीय निर्वाचनको पहिलो चरणको चुनाव तत्कालीन प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्पन्न गरे भने दोस्रो चरणको स्थानीय चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भएको हो ।

४. निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तिका नेताहरुले बाम गठबन्धन भएको घोषणा गरे । कात्तिक १७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा केपी ओली, प्रचण्ड र बाबुराम भट्टराईले संयुक्त रुपमा हात मिलाएर बाम गठबन्धनको घोषणा गरेका थिए ।

घोषणा भएकै दिन सामाजिक सञ्जालहरुमा बाम गठबन्धनले स्थान पायो । सबैले प्रचण्ड, ओली र बाबुरामलाई बधाई दिए । जनताले गठबन्धनबाट अब केही हुने आशा गरेको छ, आजसम्म त्यो आशा पालेर जनता बसेका छन् ।

गठबन्धन भएपछि एमाले र माओवादी केन्द्रको चुनावी नतिजा एकदम उत्साहजनक आएको छ । अब नयाँ बन्ने सरकारको नेतृत्व बाम गठबन्धनका नेताले गर्नेछन् । तर, चुनावमा मिलेर जाने घोषणा गरेका बाबुराम त्यसको केही दिनपछि गठबन्धनबाट बाहिरिए । गठबन्धनलाई गाली गर्दै बाबुराम निस्केका हुन् ।

५. अक्टोबर ६ मा नेपाल प्रहरीको डिआईजीबाट राजीनामा दिएका नवराज सिलवाल एमाले प्रवेश गरेको विषय भाइरल भयो । उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि सिलवाल नेपाल प्रहरीको आईजीपी बन्ने दौडमा थिए । तर कांग्रेस–माओवादी गठबन्धन सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गर्यो ।

सरकारी निर्णयका विरुद्ध सिलवाल सर्वोच्च अदालत गए । सर्वोच्चले चन्दको नियुक्ति बदर गरिदियो । तर चन्दको नियुक्ति बदर भएपनि सरकारले सिलवालको साटो प्रकाश अर्याललाई आईजिपी नियुक्त गर्यो । अर्यालको नियुक्तिले आफूलाई अन्याय परेको भन्दै सिलवाल फेरि अदालत गए ।

लामो समय निर्णय हुन नसकेको सिलवालको मुद्दा केही महिनाअघि सर्वोच्चले खारेज गरिदियो । सर्वोच्चमा मुद्दा खारेज भएपछि सिलवालले नेपाल प्रहरीको डिआईजीबाट राजीनामा दिएका हुन् ।

६. सेप्टेम्बरमा भन्सार छली अवैधरुपमा चिनियाँ नाका केरुङ हुँदै ल्याइएको ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीबाट बरामद भयो । सडकमा पार्किङ गरी राखिएको गाडीलाई शंका लागि चेकजाँच गर्दा उक्त सुन भेट्टिएको हो । सुन कसको भनेर बजारमा ठूलै चर्चा भयो । प्रहरीको अनुसन्धानमा मुख्य सुन तस्कर चिनियाँ नागरिक भएको पुष्टि भयो ।

७. कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोगमा कांग्रेस–माओवादीले एकाएक अप्रिल ३० मा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरे ।

संसदमा प्रधानन्यायाधीश कार्कीमाथि अभियोग दर्ता भएसँगै यसको चौतर्फी विरोध सुरु भयो । सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखे । कांग्रेस निकट कानून व्यवसायीहरुले नै कार्कीमाथिको महाअभियोगलाई लोकतन्त्रमाथिको महाअभियोग भने ।

महाअभियोगविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश दियो । लगत्तै कार्की पुनः काममा फर्किइन् । उनले उमेर हदका कारण अवकास पाइसकिन् भने दलहरुले पनि महाअभियोग प्रस्ताव फिर्ता लिइसकेका छन् । महाअभियोग प्रस्तावको प्रस्तावक मीनबहादुर विश्वकर्मा र समर्थक माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत थिए ।

८.अगस्त महिनामा तराईका जिल्लाहरु अविरल वर्षातका कारण आएको बाढीले जलमग्न भए । सर्वसाधारण घरबारविहीन बने । थुप्रैको संख्यामा सर्वसाधारणले ज्यान गुमाए । बाढीका कारण करोडौंको सम्पत्ति नोक्सान भयो ।

सरकारले बाढीपीडितको उद्दार र राहत वितरणका लागि प्रयासहरु गरे पनि अपेक्षा अनुसारको कुनै पनि काम हुन सकेन । यस विषयमा सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणीहरु भए । स्वभाविक पनि थियो टिकाटिप्पणी गर्न । बाढीमै ज्यान गरमाएका नाबालकलाई गाड्ने जमिन समेत नपाएपछी बाढीमा बगाईदिएको दर्दनाक तस्विर संसारभर चर्चामा रह्यो ।

९. संयुक्त अरब इमिरेट्स (यूएई)बाट अवैध रूपमा काठमाडौँ भित्रिँदै गरेको ३३ किलो सुन जनवरी १४ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार गोल्डेन गेट बाहिरबाट बरामद भयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विमानस्थलको भन्सार चेकजाँच तथा सुरक्षा घेरा पार गरी दुईवटा सुटकेसमा लुकाई बा१प २९१५ नम्बरको ट्याक्सी प्रयोग गरी गेटबाहिर लैजाँदै गरेको अवस्थामा उक्त सुन बरामद गरिएको थियो ।

उक्त सुन कसको थियो भनेर सामाजिक सञ्जालमा ठूलो बहस र टीकाटिप्पणीहरु भएका थिए । प्रहरीको अनुसन्धानबाट ३३ किलो सुनको मालिक राजनप्रसाद पन्त भएको पुष्टि भयो । पन्तलाई दुबईबाटै पक्राउ गरी केही महिनाअघि मात्र काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको थियो ।

१०. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भए । जेठ २३ गते व्यवस्थापिका संसद्मा भएकोे निर्वाचनमा देउवा ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

देउवालाई संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र, राप्रपा, मधेस केन्द्रित दल र अन्य साना दलहरुको समर्थन थियो । देउवाको विपक्षमा नेकपा एमाले, माले, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले मतदान गरेका थिए ।

देउवा २०५२ भदौदेखि २०५३ फागुनसम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०५८ साउनदेखि २०५९ असोजसम्म दोस्रोपटक प्रधानमन्त्री बने । तेस्रो पटक २०६१ जेठदेखि २०६२ माघसम्म प्रधानमन्त्री बनेका देउवा चौथोपटक प्रधानमन्त्री नै छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्