सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साथीलाई ब्लड क्यानसरबाट बचाउन चिया बेच्दै

यसै पनि चिसो मौसम रहने दोलखाको चरिकोटमा बुधबार मौसम झन चिसो थियो । एकाबिहानै कठ्यांग्रिने चिसोमा चरिकोटको सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे ।

७/८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल्न सुरु गरे, भाँडामा पानी बसाले, चिनी, चियापत्ती हाले । चिया तयार भयो ।

उनीहरुकै साथीको अर्को समूहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहान्छौं ।’ बिहानको चिसोमा चोक वरपर जम्मा भएका सर्वसाधारण स–साना बालबालिकाले चिया पकाएको हेर्न झुम्मिए ।

केही बेरपछि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी आइपुगे । केसीले स–साना विद्यार्थीले सहपाठीको उपचारका लागि थालेको सहयोग अभियानको प्रशंसा गरे, उनीहरुले पकाएको चिया पिए र सहयोग संकलन बाकसमा पाँच हजार रुपैयाँ राखिदिएर अभियान सुरु गरे ।

भीमेश्वर नगरपालिका ५ ठुल्ढुंगाका १४ वर्षीय मदन केसी गौरीशंकर बोर्डिङ स्कुलबाट ८ कक्षासम्मको पढाइ पूरा गरेर यसै शैक्षिक सत्रमा सदरमुकामकै कालिञ्चोक उच्च माविमा ९ कक्षामा भर्ना भएका थिए ।

बाबु नारायण केसी सोही स्कुलमा सहायक थिए । आमा मीना चरीकोटको बजारमा नाङ्लो पसल चलाउँथिन् । बहिनी बोर्डिङमै पढ्दै थिइन् । मदनको पढाइ राम्रै चल्दै थियो । बाबुआमाको कमाइले परिवार जेनतेन चलेकै थियो ।

दुई महिनाअघि एक दिन मदनलाई अचानक ढाड दुख्यो । नजिकैको मेडिकल गए । एक्सरे गर्दा केही समस्या नदेखिएपछि उनीहरु फर्किए । १५ दिनपछि फेरि घुँडा लगायत शरीरका विभिन्न भागमा दुख्ने समस्या देखियो । बाबुआमाले झाँक्रीकोमा लिएर गए । ठीक भएको अनुभूतिपछि मदन फेरि स्कुल जान थाले ।

स्कुलमा नेपाली सेनाले राष्ट्रिय सेवा दलअन्तर्गत विद्यार्थीलाई दिएको तालिममा उनी पनि सहभागी थिए । सेनाले उनीसहित सहभागीलाई भ्रमणका क्रममा एक महिनाअघि विराटनगर लिएर गयो । खेलकुदसहित केही सामान्य अभ्यास थियो । पाँचौं दिन उनको अनुहार अचानक सुन्नियो ।

धरानस्थित बिपी कोइराला मेमोरियल अस्पताल लगियो । अस्पतालले उनको रगत र शरीरमा रगतको मात्रा जाँच गर्यो । ब्लड क्यान्सरको आशंकामा उनलाई तत्काल भक्तपुर क्यान्सर अस्पताल रिफर गरियो । भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले बोनम्यारो गरेर रिपोर्ट दिल्ली पठाए ।

एक सातापछि उनको रिपोर्ट आयो । उनलाई ब्लड क्यान्सर भएको रहेछ । चारपटकसम्म किमो गर्नुपर्ने डाक्टरहरुले बताए । परिवारसँग खर्च अभाव भयो । परिवारले मदनलाई भक्तपुरबाट सिभिल अस्पताल पुर्याए । अहिले उनलाई सिभिलमै भर्ना गरिएको छ ।

डाक्टरहरुले बाबु नारायणलाई उपचार सम्भव रहे पनि ग्यारेन्टी गर्न नसक्ने र महँगो हुने बताएका छन् । ‘कसरी छोरा बचाउनु, थाहा छैन’, नारायणले रुँदै भने । मदनलाई ब्लड क्यान्सर भएको मदनले भर्खरै छाडेको गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ७ मा पढ्ने विद्यार्थीले उनकी बहिनी मनिषामार्फत थाहा पाए ।

मनिषाले घरको पीडा सहपाठीलाई रुँदै सुनाएपछि उनीहरुले आपसमा सल्लाह गरे, शिक्षकसँग पनि सल्लाह गरे । शिक्षिका विन्देश्वरी खतिवडासहितले सहयोग संकलन गर्न सुझाव दिए ।

कक्षा ७ का विद्यार्थीले कक्षाकोठामा गल्ती गर्दा ५ रुपैयाँ जरिवाना तिर्ने नियम थियो । ६ महिनाअघि सुरु भएको यो नियमले दुई हजार रुपैयाँ जम्मा भएको थियो । यो रकम मदनको उपचारका लागि नगन्य थियो ।

अरु विकल्प के ? कक्षा ७ की एलिना पोखरेलका अनुसार विद्यालय र घरमा गृहकार्य गर्ने समयबाहेक बचेको समयमा चोकमा चिया पकाएर बेच्ने र मिलनलाई सहयोग जुटाउने विषयमा विद्यार्थीले छलफल गरे ।

उनीहरुले विद्यालय व्यवस्थापनसँग अनुमति मागे । व्यवस्थापनले स्थानीय प्रशासनसँग पनि अनुमति लिइदियो । त्यसपछि विद्यार्थीले बुधबार बिहान चिया बेच्ने अभियान सुरु गरेका हुन् । ‘५, ६ र ७ कक्षाका विद्यार्थी यो अभियानमा छौं’, एलिनाले भनिन, ‘हरेक दिन बिहान ७ देखि ९ बजेसम्म र दिउँसो ४ देखि ५ बजेसम्म चिया बेची सहयोग रकम उठाएर पठाउछौं ।’

उनका अनुसार २४ गतेसम्म चल्ने अभियानमा तीनवटा कक्षामा रहेका ७४ जनाले विभिन्न समूह बनाएर पालैपालो चोकमा खटिने नियम बनाएका छन् । स्कुले विद्यार्थीले चलाएको अभियानमा बुधबार ५७ हजार ९ सय ६५ रुपैयाँ संकलन भएको छ ।

मदनका बाबु नारायण, बहिनी मनिषा र स्कुलका प्राचार्यको रोहबरमा बुधबार संकलन भएको हिसाब सार्वजनिक गरिएको छ । विद्यार्थीको अभियानमा सातदोबाटो चोकमा आउजाउ गर्ने सर्वसाधारणले साथ दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्