सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दरबारमार्ग सामुहिक बलात्कारको मुल्य ३० लाख

अघिल्लो बिहिबार राजधानी काठमाण्डौको मुटु दरबारमार्र्गिस्थत ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाईएको खुलासा भएको छ ।

लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई होटलमै छाडेर गएपछि रीसको झोंकमा सामूहिक बलात्कारको मौखिक उजुरी दिएको मिलापत्र कागजमा उल्लेख छ । तर, मिलापत्रमा लेनदेनबारे उल्लेख गरिएको छैन ।

सामूहिक बलात्कारको घटना मिलाउन दरबारमार्ग वृत्तका प्रहरीले भूमिका खेलेको पाइएको छ । कतिसम्म भने केटाकेटीले बिहे गर्ने सहमति भएको भन्दै प्रहरीले दुबैको सामूहिक तस्वीरसमेत खिचेर राखेको खुल्न आएको छ । तर, मिलापत्र भइरहेको ठाउँमा पनि युवती भने रोइरहेको आफूले देखेको प्रत्यक्षदर्शीले बताएका छन ।

पीडित युवती सामूहिक बलात्कार भएको भन्दै आएपछि कमलपोखरी प्रहरीले दरबारमार्ग बृत्तमा पठाएको थियो । युवतीले उजुरी दिएपछि प्रहरीले घटना भएको होटलमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै बयान समेत लिएको थियो ।

त्यसपछि प्रहरीकै उपस्थितिमा दुबै परिवारवीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास सुरु भएको थियो । यसमा संलग्नहरुले बताए अनुसार अपराह्न करिव ४ बजेतिर पीडित परिवारले नगद बुझेका थिए ।

संयोगबस पीडित युवतीका नातेदार र शैलेशका साथी एक समयका सहकर्मी रहेछन, जो यही मुद्दाका सिलसिलामा दरबारमार्ग प्रहरी वृत्तमा आमुन्ने सामुन्ने भए । उनीहरुकै पहलमा मिलापत्र भएको पाइएको छ ।

अपराह्न प्रहरी बृत्तमा पुगेका एक व्यक्तिका अनुसार त्यहाँ मिलापत्र भइरहँदा पीडित युवती रोइरहेकी थिइन् । उनलाई फकाउन शैलेशकी आमाले ‘मेरी छोरी पनि छैन, तिमीलाई अहिल्यै बुहारी बनाउन तयार छु’ भनेकी थिइन् ।

मिलापत्र गर्ने क्रममा पीडित परिवारले प्रहरी परिसरमै ३० लाख रुपैयाँ बुझेका थिए । मिलापत्र गर्ने सहमति भएलगत्तै शैलेशका साथीहरुले एक–डेढ घन्टामै रकम जम्मा पारेको सुनाउँदै स्रोतले भन्यो, ‘त्यहाँ केटापक्षका मानिसहरु भन्दै थिए १/२ करोडको कुनै चिन्ता छैन ।’

स्रोतका अनुसार पीडित परिवारले त्यहीँ ३० लाख नगद बुझेका थिए, जुन नजिकैको बैंक अफ काठमाडौंमा रहेको आफ्नो खातामा जम्मा गरेका थिए । तर, पीडितका बाबुले सबै रकम जम्मा गरे वा गरेनन् खुलेन । तर, प्रहरी स्रोतले भने खातामा २७ लाख आकस्मिक रुपमा आएको देखिएको बताएको छ ।

शैलेश र पीडित युवतीको परिवारबीच प्रहरीकै उपस्थितिमा मुद्दा मामिला नगर्ने सहमति भयो । एक पन्ने सहमति पत्रमा पीडितका बाबु, आमा, शैलेसका आमा, शैलेश र केही साक्षीले हस्ताक्षर गरेका छन् ।

यो मिलापत्र प्रहरीले नै तयार पारेको थियो, त्यसैले त्यहाँ लेनदेन उल्लेख गरिएको छैन । स्रोतले भन्यो, ‘पीडितले बुझेको रकमबाट प्रहरीले पाएका छैनन, केटा पक्षले नै दिएको होला । तर, लेनदेनमै मिलापत्र भएको हो ।’

मिलापत्र गरेर आफ्नो नियन्त्रणमा रहेका शैलेशलाई छाड्नुअघि प्रहरीले ‘विवाह गर्ने’ भन्दै शैलेश र पीडित युवतीको संयुक्त तस्वीर समेत खिचेको थियो । सहमति गर्दैगर्दा आफूले पनि पीडित युवतीको उद्दार भयो भन्ने ठानेको तर, सामूहिक बलात्कार भनेर खबर बाहिर आएपछि छाँगाबाट खसेजस्तै भएको मिलापत्रमा हस्ताक्षर गरेका एक साक्षीले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्