सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गर्भपतन गराउनेको बृद्धी, एउटैले ३ पटक बर्षमा

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा गर्भपतन सेवा लिन अधिकांश अविवाहित महिला आउने गरेको अस्पताल श्रोतले बताएको छ । गर्भपतन गराउन आउनेमा अविवाहित र कम उमेरका महिलाहरु समेत रहेका छन् । अस्पतालका अनुसार एक १३ वर्षीया बालिकाले समेत गर्भपतन गराएकी छन् ।

जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा. राजेन्द्र बस्नेतका अनुसार एक महिनामा सय जनासम्मले वैधानिक रुपमा गर्भपतन गराएका छन् । त्यसमा विद्यालय तथा क्याम्पस पढ्ने उमेर समूहका किशोरीहरु पनि रहेका उनले जानकारी दिएका छन ।

जिल्लामा अवैधानिक रुपमा बिभिन्न तरिकाबाट असुरक्षित गर्भपतन गर्नेको संख्या पनि उच्च रहेको छ । प्रत्येक महिना असुरक्षित तथा अवैधानिक रुपमा गर्भपतन गरी स्थास्थ्य खराब भएर उपचारका लागि ८/९ जना विरामी आउने गरेको मेडिकल अधिकृत बस्नेतले बताएका छन ।

ग्रामीण भेगमा रहेका स्वास्थ्यकर्मीबाट असुरक्षित गर्भपतन हुने गरेको उनको भनाइ छ । अस्पतालमा गर्भपतनका लागि एउटै महिला एक वर्षमा तीन पटकसम्म आएको पाइएको छ ।

डा.बस्नेतले पछिल्ला दिनमा गर्भपतन सेवा निःशुल्क हुनु, क्याम्पस पढ्ने किशोरीहरुमा यौन कौतुहलता बढी हुनु तथा जिल्लामा सुरक्षित गर्भपतन सम्बन्धी चेतनामूलक कार्यक्रम हुन थालेपछि गर्भपतन गराउनेको संख्या बढेको हो ।

नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न पाउने व्यवस्था गरिएको छ । जबर्जस्ती करणी र हाडनाता करणीबाट गर्भ बसेमा १८ हप्तासम्मको गर्भ पतन गर्न पाइने व्यवस्था छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्