सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्ता छन श्रीमती पिडित श्रीमानहरुका गुनासा

केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ ।

धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको उनका श्रीमानको आरोप छ । झट्ट सुन्दा होला जस्तो लागे पनि अहिले काठमाडौँ उपत्यका लगायतका देशका शहरी क्षेत्रमा यस्ता घटना बढिरहेका छन् । बढ्दो शहरीकरणसँगै पारिवारिक विचलनका घटना बढ्नु स्वभाविक हो ।

परम्परागत रुपमा श्रीमान–श्रीमतीको झगडा परालको आगो मानिन्थ्यो । विस्तारै महिलाले कानूनी र सामाजिक रुपमा अधिकार पाउन थालेपछि श्रीमानसँग सम्बन्ध नराम्रो भएपछि श्रीमती प्रहरीसम्म जाने क्रम बढ्न थालेको छ ।

घरेलु हिंसा, श्रीमानले अर्को विवाह गरेको, खान–लाउन नदिएको भन्दै महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै आएका छन् । पछिल्लो समय भने पुरुषले पनि श्रीमतीबाट आफू पीडित भएको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिने क्रम बढ्न थालेको छ ।

ललितपुर महानगरपालिकामा नै आएको अर्को घटनामा एक जना पुरुषले विदेशी श्रीमतीले बेवास्ता गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहेका छन् । डेढ वर्ष पहिले अमेरिकन नागरिकसँग विवाह गरेका ती व्यक्ति उनीसँग मुस्किलले १० दिन मात्रै सँगै बसे ।

आफू गएपछि प्रक्रिया मिलाएर उनलाई समेत अमेरिका लाने श्रीमतीले आश्वासन दिएकी थिइन् । उता गएपछि फर्किएर पनि नआएको र उनलाई उता लैजान बेवास्ता गरेको भन्दै उनले कानूनी रुपमै समेत अलग्गिन चाहेका हुन् ।

प्रहरी र स्थानीय निकाय दुवैमा पुरुषले सम्बन्धविच्छेद गर्न चाहेका मुद्दा आउन थालेका छन् । पहिले श्रीमानले सोझै सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिन पाउने व्यवस्था थिएन । त्यसैले पनि यस्ता मुद्दा पहिले स्थानीय निकायमा जाने गरेका थिए ।

ललितपुर महानगरपालिकाका न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले श्रीमतीबाट विभिन्न कारणले पीडित भएर सम्बन्धविच्छेद गर्नका लागि उजुरी कानून शाखामा धेरै आएको बताउँछन् । समितिले भने आएका मुद्दामा पहिले मेलमिलापका लागि प्रयास गर्छ । मेलमिलापको चरण पार गरेर पनि मिल्न नसकेका मुद्दा मात्रै अदालतमा जान्छ ।

उनी भन्छन, “हामीले सकेसम्म र मिल्नेसम्मका मुद्दा मेलमिलापमार्फत यहिँ टुंग्याउन प्रयास गर्छौं ।” आपसमा मिलेर बस्न नै नमिल्ने दुवैले भन्दा मात्रै समितिले मुद्दा अदालत पठाउने गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका कार्यालयकी प्रमुख चञ्चला श्रेष्ठ महिलाका तुलनामा पुरुष घरभित्र पीडित भएका घटना कम भए पनि बढ्ने क्रममा रहेको बताउँछिन् ।

एक दशकसम्म होला जस्तो लागे पनि प्रहरीसम्म यी घटना आउन थालेका छन् । पुरुष खुलेर महिला जसरी म पीडित भएँ भनेर कम मात्रै आउने गरेको बताउँछिन् । अधिकांश घटनामा उनीहरु सल्लाहका लागि आउँछन् ।

उनी भन्छिन, “अझै पनि म त केटा मान्छे हो श्रीमतीबाट पीडित भएँ भनेर कसरी भनेर खुल्न नसक्ने छन् ।” गैरसरकारी संस्थाले पनि महिला मात्रै पीडित हुन्छ भन्ने सोच्ने गर्छ ।

श्रीमतीबाट पीडित हुने घटना वैदेशिक रोजगारीमा गएका पुरुषको बढी आउने गरेको उनको भनाइ छ । श्रीमतीलाई शहरी क्षेत्रमा छोडेर गएका पुरुष फर्कँदा श्रीमती र सम्पत्ति दुवै गुमाएका छन् ।

श्रीमतीले भने महँगीले गर्दा पैसा सकिएको बताउने गर्छन् । प्रहरी कहाँ खोजतलासमा धेरै महिला हराएका मुद्दा छन् । तीमध्ये धेरैमा वैदेशिक रोजगारबाट फर्किएका श्रीमानले श्रीमती हराएको भन्दै दिएका मुद्दा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्