सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किशोरावस्था, अण्डकोष र लिङ्गको आकारमा वृद्धि

“रवितालाई महिनावारी भएको रहेछ । पहिलोपटक महिनावारी हुँदा तल्लो पेट त दुख्छ नै । कसैलाई बढी दुख्छ । कसैलाई कम । नआत्तिनु भनेर सम्झाई दिएको छु । निरन्तर दुखिरह्यो भने आउनु भनेको छु । यस्तो बेलामा सुरक्षित रुपमा कसरी प्याडको प्रयोग गर्ने भन्ने सिकाइदिएँ”, अनमि सुदीच्छा कोइराला जवाफ दिँदै थिइन् ।

“बाबु किशोरावस्थामा अण्डकोष तथा लिङ्गको आकारमा वृद्धि हुन्छ । पिसाब पोल्छ । जनेन्द्रीय वरिपरि चिलाउँछ । तर अस्वभाविक रुपमा यस्ता लक्षण बढ्दै गयो भने आउनु ।” सिनियर अहेव मदनविक्रम दाहाल किशोर प्रतिक राना मगरलाई परामर्श दिँदै थिए ।

ती दुवै स्वास्थ्यकर्मी सिन्धुलीको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा कार्यरत छन । रातभर तल्लो पेट दुखेर निदाउन नसकेकी कक्षा ९ मा अध्ययनरत रविता रम्तेल सहपाठीको साथमा स्वास्थ्य केन्द्रमा आएकी थिइन् ।

अनमि कोइरालाले आफूलाई प्रदान गरेको सेवा, व्यवहार र परामर्शप्रति औधी रमाउँदै स्वास्थ्य केन्द्रको मूल ढोकामा भेटिएकी किशोरी रम्तेलले फुर्किंदै भनिन, “कस्तो डर लागिरहेको थियो, पेट दुखेर उभिन सकेको थिइन, टाउको दुखिरहेको थियो, अहिले त सबै विसेक भा जस्तो भा छ, यस्तो पो स्वास्थ्यकर्मी दिदी । आमालाई समेत नभनी आएकी थिएँ ।”

भर्खर माध्यामिक शिक्षा परीक्षा सकाएका किशोर मगरले भने, “कहिले परीक्षा सकुँला र यहाँ (स्वास्थ्य चौकी) आउँला भाथ्यो । बा, आमा, साथीलाई समेत भनेको थिइनँ । स्वास्थ्यकर्मी सरले छुट्टै कोठामा लगेर खुलेर कुरा राख भन्नुभयो । आफ्ना कुरा भनिदिए । मेरो कुरा सुनेर त किशोर अवस्थामा आउने परिवर्तन पो भनिदिनुभो । के गर्नुपर्छ के गर्नुहुन्न भनेर जानकारी दिनुभयो । बल्ल ढुक्क भए, खुलदुली मेटियो । यी कुरा त साथीहरुलाई भनुँ भनुँ लागिरहेको छ, सोधे भने भनिदिन्छु ।”

सिन्धुली जिल्लाका २४ स्वास्थ्य संस्थामध्ये भूकम्पले आंशिक क्षति पु¥याएको बेलघारी स्वास्थ्य संस्थाले किशोर तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा दिन जिल्लामा नै पहिलो पटक अलग परामर्श एवं उपचार कोठा छुट्याएको छ ।

जिल्लाकै अन्न भण्डार कहलिएको तीनपाटन फाँटमा बसोबास गर्ने किशोर–किशोरीले आफ्ना जिज्ञासा, कौतुहलता तथा समस्या यहीँ अलग कोठमा बसेर खुलेर अहिले स्वास्थ्यकर्मीलाई सुनाउँछन् । यस्तो सेवा लिन आउनेमा किशोरभन्दा किशोरी बढी भएको स्वास्थ्य संस्थाले जनाएको छ ।

सिनियर अहेव दाहालले भने–“किशोर–किशोरी अवस्थामा हुने शारीरिक, मनोसामाजिक तथा यौनिक परिवर्तन, प्रजनन स्वास्थ, गर्भनिरोधक उपाय, परिवार नियोजन जस्ता विषयमा कुनै कुरा नलुकाई भनिदिन्छौँ । हामीले खुलेरभन्दा उनीहरुले पनि धक नमानी आफ्ना कुरा भन्दा रहेछन, यसबाट यौन तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन एवं समस्याला्ई समाधान गर्न सजिलो भैराखेको छ ।”

उसो त बेलघारी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले नेपालको पहिलो किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा प्रमाणीकरण गरेको छ ।

स्थानीयवासी चिकित्सक कैलाशकुमार बल भन्छन–“शुरु शुरुमा किशोर–किशोरी आफ्ना समस्या लिएर स्वास्थ्य संस्थामा आउन नै लजाउँथे । आफ्ना कुरा खुलेर भन्न त परै जाओस् । यौन र प्रजननका शब्द सुन्न लजाउँथे । अलग कोठाको व्यवस्था गर्दासमेत आफ्ना कौतुहलता एवं जिज्ञासा सुनाउँदैनथे, लजाउँथे, हिचकिचावट गर्थे ।”

चिकित्सक बल अगाडी भन्छन–‘सुझाव बक्स राख्यौँ, लेख्न सक्नेले त्यहाँ लेखेर आफ्ना कुरा राख्थे । विस्तारै परिवर्तन आयो । अहिले त आफ्ना अभिभावकलाई समेत भन्न नसक्ने यौन तथा प्रजननका कुरा खुलेर सुनाउँछन, हामी आफूले जानेका ज्ञान उनीहरुलाई भन्छौँ, खुशी भएर जान्छन ।’

कोठामा बृहत्तर यौनिकता शिक्षासम्बन्धी विविध ब्रोसर एवं फ्लेप राखिएका छन् । सरल भाषामा चित्रसहित रहेका यस्ता जानकारीले उनीहरुका यौन तथा प्रजनन जिज्ञासा मेटाइरहेको देखिन्छ । कण्डम, गर्भ निरोधक खाने चक्की, डिपोप्रोभेरा, इम्प्लान्ट जस्ता आदि पुरुष तथा महिलाका परिवार नियोजनका सबै प्रकारका साधनसमेत राखिएका छन् । स्वास्थ्यकर्मीका परामर्शपछि उनीहरु आफ्नो इच्छा, रोजाइ अनुसारका सामग्रीसमेत पढ्छन् ।

स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर रावत भन्छन– “महिलाले कुर्कुच्चा देखाउन हुँदैनथ्यो, महिनावारी हुँदा छुट्टै गोठमा बस्नुपथ्र्यो जस्ता कुचलन थिए । अहिले परिवर्तन आएको छ । महिनावारी हुँदा प्याडका प्रयोग गर्न थालेका छन, परिवार नियोजनको स्थायी एवं अस्थायी साधन प्रयोग गर्ने बानी बढ्दै गएको छ । कम उमेरमा विवाह गर्नु हुँदैन भन्ने सामाजिक चेतना बढेको छ । किशोर–किशोरीले यौन तथा प्रजननका आफ्ना समस्या लुकाउन छाड्दै गएका छन् । उनीहरुको स्वास्थ्य संस्थामा नै सेवा लिने क्रम बढ्दो छ ।”

विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई किशोर–किशोरी भनिन्छ । पछिल्लो जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार १५ देखि १९ वर्षका २८ प्रतिशत किशोरीको विवाह सो उमेर समूहभित्र भइसक्छ । सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन् ।

अर्कोतर्फ १९ वर्ष मुनिका किशोरीको गर्भाधान गर्ने दर प्रतिएक हजारमा ८१ जना रहेका छन् । कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न किशोर–किशोरी यौन तथा प्रजनन सेवाको पहुँचलाई विस्तार गर्नुपर्ने खाँचो रहेको सरोकारवाला निकायले बुझ्नु जरुरी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्