सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विदेशबाट आउनेले ल्याउने सुनमा कति कर तिर्नुपर्छ ?

सुबिधाजनक बहुमतसाथ बनेको बाम सरकारले बजेट भाषणमार्फत विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । अब बिदेशबाट फर्किँदा तोकेको कर तिरेर १०० ग्रामसम्म काचो सुन ल्याउन पाउने आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।

५० ग्रामसम्मको सुनका गहना ल्याउन कर तिर्नु नपर्ने यसअघिको व्यवस्थाबारे आर्थिक विधेयकमा केही भनिएको छैन । अब ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले बताएका छन ।

‘कुल सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ,’ ती अधिकारीले भने–‘सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत गरिनेछ ।’

अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश आईसकेको छैन । यसका कारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।

भन्सार विभागका अधिकारी भने आर्थिक विधेयकले सुन मात्रै भनेकाले अब गहना पनि भन्सार नतिरी ल्याउन नपाइने तर्क गरिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्