सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुग्लिनमा दुर्घटना रोक्न राडार बन्दुक चलाउँदै प्रहरी

सडक विस्तार भएसंगै मुुग्लिन–नारायणगढ सडकखण्डमा सडक दुर्घटना पनि बढ्न थालेका छन । सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि ट्राफीक प्रहरीले कारबाही गर्न शुरु गरेको छ ।

चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले दिएको जानकारी अनुसार तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेपछी गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको छ ।

राठोरका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेग गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरी उपरीक्षक राठोरका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै खटाइएको छ । उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै रहेको छ ।

सवारी चालकले ट्राफिक नियम जान्दाजान्दै पनि लापरबाही गर्नु विडम्बना भएको उपरीक्षक राठोरले बताएका छन । ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडकखण्डमा ‘समय कार्ड’ नै उपलब्ध गराएर गाडी पास गराउने तयारी गरिएको छ ।

यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने ट्राफीक प्रहरीको भनाइ छ । नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटर क्षेत्रमा अहिले सडक चौडा बनाई कालोपत्रे गर्ने काम सकिएपछि सवारी तीव्र गतिमा हिँड्ने गरेका छन् । आईतबार तीव्र गतिकै कारण मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्