सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चीन भ्रमणमा प्रधानमन्त्री ओली, ११९ जनाको टोली

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ताका साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशीय सम्झौता गर्नेछन ।

प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ओली पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन ।

त्यस्तै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा पनि भ्रमण टोलीमा छन् ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा भएको यो भ्रमणमा ओली जम्बो टोली लिएर गएका छन् । निजी क्षेत्रको हिमालयन एयरलाइन्समा उनको भ्रमण टोली बेइजिङ जाने छ । भ्रमण टोलीमा चार मन्त्री, आधा दर्जन सांसद र दुई दर्जनभन्दा बढी सरकारी अधिकारी र पदमा नभएका अन्य केहीलाई पनि सहभागी गराइएको छ ।

भ्रमणका क्रममा चीनमा हुने सम्झौता, पारवहन, यातायात, सडक, पूर्वाधारमा लगानी र सहयोग तथा ऊर्जा विकास, नाकाको स्तरोन्नतिबारे विगतमा भएका सहमतिलाई कसरी र कहिले कार्यावन्यन तहमा ल्याउलान् भन्ने चासो सर्वत्र छ । चीनसँग यसअघि केही महत्वपूर्ण सहमति भए पनि केहीले मात्र अपेक्षित गति लिएकाले यो भ्रमणले त्यसलाई कुन ढंगले गति दिन्छ भन्नेमा कौतूहल छ ।

सन् २०१८ मा दुवै देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान हुने चर्चा भए पनि चीनबाट अझै भ्रमणबारे आश्वासन आएको छैन । भ्रमणका अवसरमा कोसी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रूपान्तरण गर्ने विषयले स्थान पाउने बताईएको छ ।

त्यस्तै रेलमार्ग अध्ययन गर्ने, तिब्बतको राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा नाकासम्म र्पुयाउने, केरुङ–काठमाडौं रेलमार्ग निर्माण, रसुवागढी र तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माण, देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीमा हस्ताक्षर हुने बताइएको छ ।

को–को ले पाए तीन महत्वपुुर्ण पदमा कार्यबाहकको जिम्मेवारी ?
प्रधानमन्त्री केपी ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहेकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्