सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजा विरेन्द्रको घर र श्रीपेच सर्वसाधारणले हेर्न पाउने

राजतन्त्रको अन्त्यसँगै कोठामा गुमनाम राखिएको राजाको श्रीपेच अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याउन लागिएको हो ।

दुई साताअघि अधिकारीले नारायणहिटी दरबार पुगेर यसका लागि ३० दिनभित्रै गुरुयोजना बनाएर श्रीपेच प्रदर्शनीमा ल्याउने बताएका थिए । लगत्तै सचिव स्तरीय निर्णयबाट श्रीपेच सम्बन्धी प्रतिवेदन तयार पार्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

दरबार स्रोतका अनुसार जेठ २५ गते भएको उक्त निर्णयबारे २८ गते पत्राचार भएपछि प्रतिवेदन तयार पारिँदै छ । प्रतिवेदन तयार गर्न कार्यदललाई सात दिनको समयसीमा दिइएको थियो । ‘हामी प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिइरहेका छौं,’ नारायणहिटी दरबार संग्रहालयका सदस्यसचिव रोहित ढुंगानाले भनेका छन ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित कार्यदलमा संस्कृतिविदद्वय प्राध्यापक डाक्टर जगमान गुरुङ, मदन रिमाल, संस्कृति मन्त्रालयका दुर्गा भुर्तेल र नारायणहिटी दरबार संग्रहालयका सदस्यसचिव ढुंगाना छन् ।

२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएसँगै राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेपछि श्रीपेच दरबार भित्रकै सालोन रुपमा राखिएको थियो । ढुंगानाका अनुसार नेपालका राजाले प्रयोग गरेको श्रीपेच भन्दै बाहिरी मुलुकमा नक्कली श्रीपेच प्रदर्शनीमा राखिन थालिएकाले अब श्रीपेच अवलोकन जरुरी भइसकेको छ ।

ढुंगानाका अनुसार २०७१ सालमा संस्कृति मन्त्रालयमा तत्कालीन सचिव प्रेमकुमार राई हुँदा जनताका निम्ति श्रीपेच खुला गर्ने निर्णय भएको थियो । केही समयपछि संस्कृति मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयलाई पत्राचार पनि गर्यो । जब पत्राचार भयो, त्यहीबेला महाभूकम्प आयो ।

भूकम्पबाट श्रीपेच सुरक्षितसाथ राखिएको इलेक्ट्रोनिक्स उपकरण, सिसिटिभी लगायत उपकरणमा क्षति पुगेको थियो । त्यो मर्मत भइसकेको ढुंगानाले बताएका छन । ढुंगानाका अनुसार श्रीपेच बन्दा एक करोड ३५ लाख रुपैयाँजति खर्च भएको छ । उनका अनुसार श्रीपेच राजा वीरेन्द्रको पालामा परिमार्जनसहित बनेको थियो ।

२०६५ साल जेठ २९ गते राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्ने बेलामा श्रीपेच तत्कालीन सरकारको जिम्मा लगाएका थिए । श्रीपेच जिम्मा लगाउँदा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सुरक्षा सचिवहरू उमेश मैनाली, गोविन्द कुसुम र वामन न्यौपाने साक्षी रहेका थिए ।

सुन, मोति, हिरा, पन्ना, चाँदीजस्ता बहुमूल्य धातुले बनेको सो श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाँख राखिएको छ । २०२८ सालमा राजा महेन्द्रको निधनपछि वीरेन्द्रको राज्यारोहरण भयो । तर, वीरेन्द्रको टाउकोमा श्रीपेच अटेन । तैपनि तत्कालका लागि काम चलाइयो ।

दरबारसँग निकट रहेका बानेश्वरका प्रेमलाल श्रेष्ठले दुई तीनपटक गरेर परिमार्जनसहित श्रीपेच बनाएका थिए । २०३१ फागुन १२ गते राजा वीरेन्द्रले शुभ राज्याभिषेक गरेको दिन नयाँ श्रीपेच पहिरिएका थिए ।

उनका अनुसार श्रीपेचसँगै अब स्व.राजा वीरेन्द्रको निवास श्री सदन पनि प्रदर्शनीमा ल्याउन लागिएको छ । दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि श्री सदनमा ताला लागेको थियो । श्री सदनमा राजा–रानीले प्रयोग गरेका सामग्रीहरू छन् ।

नारायणहिटी संग्रहालयबाट महेन्द्र मञ्जिल हुँदै श्री सदन पुगिन्छ । श्री सदन जाने बाटो बनाउन (महेन्द्र मञ्जिल)सँगै रहेको पर्खाल भत्काउन थालिएको छ । नेपालको राजसंस्थासँग जोडिएका ऐतिहासिक पुरातात्विक वस्तु थोत्रिएर बसेको दरबारका कर्मचारी बताएका छन ।

यो नारायणहिटी दरबार संग्रहालयकै क्षेत्रभित्र पर्छ । तर लामो समयसम्म सर्वसाधारणका लागि खुला गरिएको छैन । यहाँभित्र छिर्दा तत्कालीन राजपरिवारको जीवनशैली बुझ्न सकिन्छ । सदनको निर्माण २०२३ सालमा भएको हो ।

उमेर पुगेका युवराज र राजा एउटै घरमा बस्नु हुन्न भन्ने राजपरम्परा अनुसार वीरेन्द्रका लागि श्री सदन बनेको थियो । स्व. मोतीरत्न स्थापितको नेतृत्वमा श्री सदन निर्माण भएको हो ।

नेपाली शैलीको यो भवनमा टायल, काठ, सिमेन्ट, देवीदेवताका मूर्ति कुँदिएका ढोकाहरू छन् । सात रोपनी पाँच आना जग्गामध्ये ७ आना दुई पैसा क्षेत्रफलमा यो भवन ठडिएको छ । पूर्वतर्फ दक्षिण फर्किएको तीन तलाको यो घरमा १६ कोठा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्