मोदीलाई लेखेको पत्रले रावल र निधीबीच फेरी चर्काचर्की
दाहाल सरकारले विशेष दुत मार्फत भारतलाई पत्र पठाएको भन्ने विषयलाई लिएर गृहमन्त्री विमलेन्द्र निधी र एमाले उपाध्यक्ष भीम रावलबीच फेरी चर्काचर्की परेको छ । शुक्रबार सिंहदरबारमा बसेको व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा निधि र रावलबीच चर्काचर्की परेको हो ।
यसअघि ४ दिन पहिले मात्रै बालुवाटारमा बसेको प्रधानमन्त्री सहितको तीन दलको बैठकमा पनि निधी र रावलबीच सोही बिषयलाई लिएर बिवाद भएको थियो । समितिको बैठकमा भारत र चीन पठाइएका विशेष दूतहरुलाई छलफलमा बोलाइएका बेला निधीले एमाले सांसदहरुलाई माक्र्सवाद सिकाउन खोजेपछि विवाद भएको बताइएको छ ।
बैठकको सुरुमा बोल्नुभएका एमाले उपाध्यक्ष रावलले नेपालमा असामान्य अवस्था रहेको सन्देश दिने गरी भारत र चीनमा उपप्रधानमन्त्रीहरुलाई पठाएर सरकारले कुटनीतिक अपरिपक्वता प्रदर्शन गरेको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई बुझाइएको पत्र सार्वजनिक गर्न माग गर्नुभएको थियो । पत्र सार्वजनिक नगरिए त्यसमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न आग्रह गरिएको रुपमा बुझ्नुपर्ने स्थिति आउने रावलको भनाई थियो ।
जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइएको पत्रमा नेपालको आन्तरिक मामिलाको बारेमा केही उल्लेख नरहेको भन्दै एमाले जस्तो पटक–पटक सत्ता सञ्चालन गरिसकेको पार्टीले पत्र सार्वजनिक गर्न भन्न नसुहाउने बताउनु भएको थियो । निधीले मोदीलाई बुझाइएको पत्रको कपी परराष्ट्र मन्त्रालयमा रहेको भन्दै सत्तामा पुगेपछि एमालेले हेर्न सक्ने जवाफ दिनुभएको थियो ।
बैठकमा एमालेको नाम नलिई निधीले ‘कुनै पार्टीको बैठकमा चीनमा विशेष दूत पठाइनु उपयुक्त र भारतमा पठाउनु अनुपयुक्त थियो भन्ने चर्चा चलेछ’ भनेपछि रावल प्रतिवादमा उत्रिनुभएको थियो । प्रतिवादमा रावलले एमालेको बैठकमा त्यस्तो छलफल नभएको र भारतलाई पठाएको चिठी सार्वजनिक हुनुपर्छ भन्ने संस्थागत निर्णय भएको बताउनु भएको थियो ।
उपाध्यक्ष रावलले मन्त्री निधी संसदीय समितिमा दलको बैठकमा जस्तै गरी प्रस्तुत भएको भन्दै आपत्ति जनाउनु भएको थियो । रावलले भन्नुभयो–‘यो पार्टीको बैठक होइन, संसदीय समितिका बैठक हो । मन्त्रीले जवाफ दिँदा कुनै पार्टीलाई होच्याउने र आरोपित गर्ने हिसाबले बोल्न पाइन्न ।’ रावलले पार्टीगत हिसाबले बोल्ने हो भने आफू निधीसँग घण्टौं बहस गर्न तयार रहेको समेत बताउनु भएको थियो ।
एमालेका अर्का सांसद चूडामणि जंगलीले निधीका पिता महेन्द्रनारायण निधी देशभक्त योद्धा थिए भन्दै छोराले भने नेपालको खाएर विदेशीका लागि काम गर्ने गरेको आरोप लगाउनुभएको थियो । प्रतिवाद गर्दै निधीले जंगलीको भनाइ रेकर्डबाट डिलिट गर्न समितिका सभापति प्रभु शाहलाई आग्रह गर्नु भएको थियो ।
निधीले माक्र्सवाद लेनिनवाद आफूले पनि अध्ययन गरेको बताउँदै राष्ट्रवादको बहस गर्न तयार रहेको बताउनु भएको थियो । मन्त्री निधीले भने–‘माक्र्स, लेनिन र उनीहरुका चेलाको राष्ट्रवादबारे म कुनै शंका गर्दिँन । तर म वीपीको चेला हुँ, वीपीको चेलालाई राष्ट्रवादको पाठ आवश्यक छैन ।’
सवाल–जवाफकै क्रममा निधी र रावल दुवै उत्तेजित भएका थिए । मन्त्री भएर संसदीय मर्यादामा रहन रावलले निधीलाई पटक–पटक सुझाउनु भएको थियो । बैठकपछी ‘दुई देशसँगको सम्बन्ध अझ सुमधुर बनाउन सरकारलाई निर्देशन दिने’ भन्ने समितिको निर्णयको मस्यौदालाई रावलले ‘पञ्चशीलको सिद्धान्त, राष्ट्रसंघको बडापत्र अनुरुप चीन, भारत लगायत सबै मुलुकसँगको सम्बन्ध समधुर बनाउने’ भन्ने शब्द राख्न लगाउनु भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्