सिस्टममा नबसे मन्त्रीलाई बर्खास्त गर्छुः दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अब पनि सिस्टम भन्दा दायाँ बायाँ गरे मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिनुभएको छ । प्रशासन र राजनीतिबीचको अन्तरसम्वन्ध विषयक मन्त्री र सचिवहरुको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुने भन्दै सिस्टममा बस्न मन्त्री र सचिवहरुलाई चेतावनी दिनुभएको हो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो–‘सरकार गठन गर्दा मैले सत्तारुढ दलका नेताहरुसँग सहमति गरेको छु, मन्त्रीहरु प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ, सिस्टमभन्दा दायाँ बाँया गर्नुभयो भने जो कोहीलाई पनि बर्खास्त गर्छु ।’ प्रधानमन्त्री दाहालले सचिवहरु पनि मुख्य सचिवप्रति जवाफदेही हुनुपर्ने भन्दै दायरा बाहिर नजान चेतावनी दिनु भएको छ ।
दाहालले भन्नुभयो–‘यहाँ मन्त्री र सचिव मिलेपछि जे पनि गर्न सकिन्छ भन्ने रहेछ, अब त्यस्तो हुन दिन्न ।’ दाहालले अगाडी भन्नुभयो–‘सचिवहरुले मुख्य सचिवलाई नटरेको हो कि जस्तो लागेको छ, यदी त्यस्तो हो भने सुध्रनुस, नत्र कदम चाल्छु ।’
प्रधानमन्त्री दाहालले जनताले राहत महसुस गर्ने गरी काम गर्न समेत निर्देशन दिनुभएको छ । जनताले स–साना काममा परिणाम खोजिरहेको भन्दै दाहालले मन्त्री, सचिव र कर्मचारी मिलेर जनपक्षिय काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
दाहालले ८ बर्षपछि प्रधानमन्त्रीको कुर्सीमा बस्दा देशमा चाँडै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भन्ने आत्मविस्वास पलाएको सुनाउनुभयो । ‘म भित्र साह्रै ठूलो आत्मविस्वास पलाएको छ, अब मिलेर देश बनाउनेतिर मात्र सोचौं’ उहाँले भन्नुभयो–‘आर्थिक समृद्धि, संविधान कार्यान्वयन र सुशासनका लागि एकैसाथ बल गरौँ । यति गरे देश दुर्घटना पर्नबाट जोगिन्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्