एक बर्षमा उपत्यकाका घरघरमा मेलम्चीको पानी
निकै प्रतिक्षित मेलम्ची खोलाको पानी तोकिएकै समयमा काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ । कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना बलियो बनेको छ ।
जम्मा २७.५ किमी सुरुङ निर्माण गर्नुपर्नेमा १९ किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न भईसकेको छ । अब ८ किमी मात्र बाँकी छ । समितिका अनुसार अगस्ट महिनामा सबैभन्दा धेरै १ किमी सुरुङ खनिएको छ ।
अहिलेकै गति अनुसार महिनाको १ किमी सुरुङ खनियो भने पनि ८ महिनामा सुरुङ खन्ने काम पुरा हुनेछ । तोकिएको मिति अँझ १२ महिना बाँकी छ । २०७४ को असोज महिनामा उपत्यकामा पानी ल्याउने मिति हो ।
अहिले दैनिक ३५ मिटरका दरले सुरुङ खनिएको समितिका उप–कार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनु भएको छ । उहाँले भन्नुभयो– ‘२०७४ को असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौं आउने कुरामा अब शङ्का छैन, तोकिएको समयमा काम सकिन्छ ।’
दुवाडीका अनुसार सुन्दरीजल र सिन्धु जोडिनलाई अब १ किमी मात्र बाँकी छ, त्यसपछि अँझ सहज हुनेछ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०७३ असोज महिनासम्ममा सुरुङ निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर भूकम्प र नाकाबन्दीका कारण ६ महिना काम हुन सकेको थिएन ।
सोही कारण देखाउँदै निर्माण कम्पनीले एक वर्ष म्याद थप गर्न समितिलाई निवेदन दिएपछि समितिले तत्काल अन्तरिम रूपमा ६ महिना म्याद थपेको छ । कामको प्रकृति हेर्दा एक वर्ष थप गर्नुपर्ने सम्भावना रहेको समितिले जनाएको छ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घर–घरमा वितरणका लागि पाइपलाइनको काम पनि तीव्र पारिएको छ ।
उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको कार्य पनि सोही समयअघि नै सम्पन्न गरिनेछ । आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारमा ५ सय किमी पाइपलाइन बिच्छ्याएको छ । ३ सय किमी बिच्छ्याउन बाँकी छ ।
निर्देशनालयका प्रवक्ता लीला ढकालले भन्नुभयो–‘६० प्रतिशत काम सम्पन्न भइसकेको छ, २०७४ असोज भित्रै हामीले काम सम्पन्न गर्छौं, त्यही लक्ष्य अनुसार काम भएको छ, हामी समयमै काम गर्न सक्छौँ ।’
निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिनेछ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रथपका विभिन्न स्थानमा पानी टङ्की निर्माणको काम भइरहेको छ ।
काठमाडौँको आरुबारी, महाङ्कालचौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्रको निर्माण भइरहेको निर्देशनालयका प्रवक्ता ढकालले जानकारी दिनु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्