पहिरोले घर पुरीँदा कास्कीमा ४ को मृत्यु
अविरल वर्षाका कारण बुधबार राति आएको पहिरोले दुई घर पुरीँदा कास्कीको लेखनाथमा चार बालबालिकाको मृत्यु भएको छ । पहिरोमा परी लेखनाथ–४ खरानीफाँटमा दुई वालक र २ वालिकाको मृत्यु भएको हो ।
राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले घरको गारो भत्कीएर पुरिँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ वर्षीया निशान सुनार, १० वर्षीया रजिना सुनार, ७ वर्षीया अञ्जिला सुनार र साढे ४ वर्षीय सलमान सुनार रहेका छन् ।
पहिरोमा पुरिएर ज्यान गुमाएका सलमान बुधबार मात्रै आमा अर्पणासँग मामा घर आएका थिए । हेटौँडा घर भई पोखरामा बस्दै आएकी अर्पणा छोरालाई लिएर माइती गएको बेला यस्तो बज्रपात परेको हो ।
पहिरो आएको थाहा पाएर भाग्ने क्रममा माया सुनार र चन्द्रकला सुनार घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
चन्द्रकलाका श्रीमान किर्तबहादुर सुनार मंगलबार घरबाट निस्केर बुधबार दिउँसो साउदी अरब उडेको आफन्तले बताएका छन् । त्यसै गरि लेखनाथ ६ सुनपदेलीमा पहिरोले घर पुरिँदा २ जना घाइते भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्