सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भोलीदेखि देशैभरी सस्तो पसल (विवरणसहित)

sasto-pasal-file-photo

फाईल तस्विर

सरकारले दशैं र तिहारमा सर्वसाधारणलाई राहत दिनका लागि असोज १ गते देखि देशभर सस्तो मुल्यका पसल सञ्चालन गर्ने भएको छ । सरकारले राजधानी लगायत देशका मुख्य शहर र जिल्ला सदरमुकामहरुमा सुपथ मुल्यका पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका अनुसार सस्तो पसल सञ्चालनका लागी साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वय रहनेछ । सुपथ मुल्यको पसलबाट सर्वसाधारण उपभोक्तालाई बजार मुल्य भन्दा सस्तोमा उपभोग्य वस्तु उपलब्ध गराईनेछ ।

आपुर्ति मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका ११ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरिनेछ । त्यसैगरी मोवाइल भ्यानबाट पनि उपत्यकाका घर दैलोमा सामान पु¥याउने व्यवस्था गरिएको छ ।

उपत्यकामा थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु, कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् ।

त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगञ्ज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुङ्ग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आउनेछन् ।

आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत पनि सदरमुकामहरुमा सुपथ मूल्यका पसल चलाउने सरकारी तयारी रहेको आपुर्ति मन्त्रालय स्रोतले जानकारी गराएको छ । माग भएमा साल्ट ट्रेडिङ कर्पोरेशनका अञ्चल कार्यालय मार्फत जिल्लामा सुपथ मूल्यका सामग्री आपूर्तिको व्यवस्था गरिएको छ ।

सुपथ मूल्यका पसलमा साल्ट नुन एक पोकाको १६ रुपैयाँ र चिनी एक किलोको ७९ रुपैयाँमा किन्न पाइनेछ । खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको निर्णय भएको छ ।

त्यो बाहेक मैदा, सुजी, दाल र सोयाविन तेलमा अधिकतम् छुट दिने गरी व्यवस्था मिलाइएको छ । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ ।

चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ ।

राजधानीको ११ स्थानमा सरकारले आफैंले सञ्चालन गर्ने पसलमा नेशनल ट्रेडिङका विद्युतीय सामान, मेसिनरी पार्टपुर्जा राख्नेछ भने खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी उपलब्ध गराउनेछ । खुद्रा ब्यापारीरुले पनि साल्ट ट्रेडिङबाट सामान लिएर सुपथ मूलयमा उपभोग्य सामग्री बेच्ने भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्