सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लडाकु शिविरको भ्रष्टाचारमा अख्तियार आक्रामक

 

Akhtiyar durupayog anusandhan aayog

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भनिएको आर्थिक अनियमितताको छानबिन सुरु गर्ने भएको छ ।

अख्तियारले आर्थिक अनियमितता प्रकरणमा नाम परेका माओवादीका तत्कालीन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

एक घण्टाको समय सिमा तोकेर शुक्रबार साँझ गरिएको आकस्मिक पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भनिएको आर्थिक अनियमितता बारे छानविन तीव्र पारिएको बताउनु भएको हो ।

पवक्ता कार्कीका अनुसार तत्कालीन अवस्थामा हस्ताक्षर गर्ने र शिविरमा बसेका जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन भनिएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकुहरुलाई सात मुख्य सहित विभिन्न उपशिविरमा राखिएको थियो । लडाकूहरुका लागि नेता कृष्णबहादुर महराले लिएको पेश्की लामो समय फर्छयौट हुन सकेको थिएन ।

शान्ति प्रक्रियामा आउँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी सेनाका सुप्रिम कमाण्डर हुनुहुन्थ्यो भने वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ डिभिजन कमाण्डर हुनुहुन्थ्यो ।

पुर्व अर्थमन्त्री तथा नेता वर्षमान पुन अनन्त, वर्तमान उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र हाल प्रधानमन्त्रीका राजनितिक सल्लाहकार रहनुभएका चन्द्रदेव खनाल ‘बलदेव’ डिभिजन कमाण्डर हुनुहुन्थ्यो ।

पुष्पकमल दाहाल ०६५ सालमा पहिलो पटक प्रधानमन्त्री भएपछि नन्दकिशोर पुन ‘पासाङ’ माओवादी सेनाको कमाण्डर तोकीनुभएको थियो भने चन्द्रदेव खनाल ‘बलदेव’ प्रवक्ता तोकिनुभएको थियो ।

अख्तियारले भने अनुसार ३० दिनको समयसिमा तोकेर उपस्थित हुन भनिएका ‘तत्कालीन जिम्मेवार नेताहरु’ को सुचीमा वर्तमान प्रधानमन्त्री देखि उपराष्ट्रपति सम्म पर्नेछन् । अख्तियारले जिम्मेवार नेताहरु भने पनि नाम भने खुलाएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्