पचहत्तरै जिल्लाबाट बावुरामको प्रचण्डसँग माग
बावुराम नेतृत्वको नयाँ शक्ति नेपालले विभिन्न माग राख्दै कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिलाई ज्ञापन पत्र बुझाएको छ । नयाँ शक्ति नेपालका सहसंयोजक रामचन्द्र झा, दुर्गा सोब लगायतका नेताहरुको टोलीले उपप्रधान तथा गृहमन्त्री निधिलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मधेसी, जनजाति, थारु आदि समुदायको जायज माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न माग गरेको छ । नयाँ शक्तिले आन्दोलनरत दलहरुको माग सम्बोधन गर्न तत्काल एक सर्वपक्षीय राजनीतिक संयन्त्र गठन गर्न माग गरेको छ ।
ज्ञापन पत्र बुझाउँदै नयाँ शक्तिले ०७४ साल माघ ७ गतेभन्दा अगावै स्थानीय तह, प्रादेशिक व्यवस्थापिका र संघीय संसदको चुनाव सम्पन्न गर्न सरकारको तर्फबाट गम्भीरता र कार्यतत्परता देखाउनुपर्नेमा जोड दिएको छ । नयाँ शक्तिले जिल्ला प्रशासन कार्यालय मार्फत देशैभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा संविधान संशोधन मार्फत पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न, पहिचानका पाँच र सामथ्र्यका चार साथै समानुपातिक र समावेशीताका आधारमा स्थानीय तहको पुनर्संरचना गर्नसमेत माग गरिएको छ ।
काठमाण्डौमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनु अघि अनामनगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जनताका दैनिकीसँग सम्बन्धित मागहरुलाई तुरुन्त पूरा नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्