सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री देखि उपराष्ट्रपति अख्तियारको सुचीमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ ।

२०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासी भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाएको जानकारी दिएको थियो । सोही क्रममा अख्तियारले प्रारम्भीक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनु भन्दै पत्र लेख्ने तयारी गरेको हो ।

ladaku_2

अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले केही दिनमै पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । ‘अनुसन्धान अघि बढेकाले केही दिनमा पत्र जान्छ,’ रिजालले भन्नुभयो–‘को को संलग्न भन्ने अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक गर्न मिल्दैन ।’

अख्तियारले उक्त प्रकरणमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका जिम्मेवार रहेका मन्त्री, शान्ति मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, शान्ति कोषको तत्कालिन जिम्मेवार कर्मचारीको नाममा पत्र लेख्ने तयारी गरेको हो ।

अनुसन्धानबाट धेरै नेता र व्यक्ति तानिन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ । सबैभन्दा धेरै माओवादी केन्द्रका नेता तानिन सक्छन् । अख्तियारले प्रारम्भिक चरणमा माओवादीका २१ नेताका नाममा पत्र पठाउने तयारी अन्तिम अवस्थामा र्पुयाएको छ ।

प्रधानमन्त्री दाहाल, उपराष्ट्रपति नन्दबहादर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणी खनाल, तत्कालिन जनमुक्ति शेनाका ब्रिगेड कमान्डरदेखि ब्रिगेडियरसम्मलाई पत्र पठाउने तयारी अख्तियारको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्