ओलम्पिकमा खर्च १ करोड बढि, उपलब्धी शुन्य
ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१ औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले भने रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरेको छ ।
रियो ओलम्पिकमा २९ सदस्यीय नेपाली टोली सहभागी भएको थियो । टोलीमा सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, सात खेलाडी, पाँचै खेलका पाँच प्रशिक्षक, दुई खेलकुद पत्रकार र बाँकी १२ जना एनओसीकै पदाधिकारी थिए ।
एनओसीको बुधबार बसेको बैठकमा कोषाध्यक्ष रतनकुमार टण्डनले रियो ओलम्पिकको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्षको प्रतिवेदनमा २९ जनाका लागि ९८ लाख ६४ हजार रुपैयाँ खर्च भएको उल्लेख रहेको बैठकमा सहभागी एक पदाधिकारीले बताएका छन् ।
यद्यपि प्रतिवेदन बुझाए पनि कोषाध्यक्ष टण्डनले केही खुलाउन नचाहेको बताईएको छ भने अध्यक्ष जीवनराम श्रेष्ठले सबै जानकारी टण्डनसँग रहेको बताउनुभएको छ । खेलकुद परिषद्ले रियो ओलम्पिकका लागि १८ लाख बजेट छुट्याएको थियो ।
काठमाडौंदेखि रियो दी जेनेरियोसम्मको दुईतर्फी टिकटका लागि एनओसीले लगभग ४४ लाख खर्च गरेको बताईएको छ । सदस्यसचिव केशवकुमार विष्ट, सात खेलाडी र पाँच प्रशिक्षकको खर्च आफूहरूले नै गरेको परिषद्को उच्च स्रोतले जानकारी दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्