सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

औषधि विभागकै कर्मचारी लागुऔषध कारोबारी

brown-sugar

लागूऔषध कारोबारमा औषधि व्यवस्था विभागका कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बिजुलीबजारस्थित विभागको कार्यालयभित्र स्टिलको दराजबाट २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने तराजु बरामद गरेको थियो ।

यसअघि लागूऔषधको कच्चा पदार्थ स्युडो आयातमा विभागका कर्मचारीकै संलग्नता रहेको पाइएको थियो । लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दका अनुसार विभागको दर्ता शाखामा कार्यरत ३२ वर्षीय सुनिल गुप्ताले हेरोइन बिक्री वितरणका लागि विभागलाई भण्डार केन्द्रका रूपमा प्रयोग गर्दै आएका थिए ।

गुप्ता पानस फर्मास्युटिकल्ससँग पनि सम्बद्ध छन् । गत मङ्गलबार जयबागेश्वरीबाट सात ग्राम खैरो हेरोइनसहित पक्राउ परेका २७ वर्षीय सूर्य संगतको बयानका आधारमा ब्युरो प्रहरीले बुधबार गुप्तालाई ५.५ ग्राम हेरोइनसहित तिलगङ्गाबाट पक्राउ गरेको थियो ।

नेपालगञ्ज स्थायी घर भएका गुप्ताले विभागका कर्मचारीको आवरणमा लागूऔषध आयात गरी नेपालगञ्ज र काठमाण्डौमा बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुमान छ । गुप्ताले नै संगतलाई एजेन्टका रूपमा नियुक्त गरी बिक्रीका लागि हेरोइन दिने गरेका थिए ।

तर, संगत पक्राउ परेपछि संगतकै बयानका आधारमा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो । उनको नियन्त्रणपछि विभागमा रहेको पानस फर्मास्युटिकल्सको दराजभित्र लुकाइराखेको अवस्थामा २२ ग्राम हेरोइन र डिजिटल तराजु बरामद भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्