अकस्मात भारतद्धारा कैलालीका तीन नाका बन्द
पाकिस्तानसँग द्वन्द्व चर्किँदै गईरहेको बेला भारतले कैलाली जिल्लासँग सिमाना जोडिएका तीन वटा सिमा नाका बन्द गराएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले टीकापुरको खकरौला, भजनीको गुलरिया घाट र मरियाघाट नाका बन्द गरेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार भारतीय सिमा सुरक्षा बल एसएसबीले शनिबारदेखि ती नाका बन्द गरेको छ । एसएसबीले आउँदो १८ गतेसम्म नाका बन्द रहने जानकारी दिएको नेपालस्थित अधिकारीले जनाएका छन् ।
एसएसबीले भारतबाट नेपालतर्फ आउने नेपालीलाई प्रवेश दिएको छ । नेपालबाट भारततर्फ जानेलाई भने कसैलाई पनि छिर्न दिएको छैन । ईलाका प्रहरी कार्यालय टिकापुरका अनुसार नाका पूरै सिल गरेको हैन, तर नाकामा पुर्ण कडाइ गरेको छ । नाका बन्द गरिएको बारे बुझ्दा एसएसबीले माथिको आदेश भएको बताएको छ ।
दुई हप्ता अगाडि कास्मिरको उरीमा इस्लामिक विद्रोहीले १८ भारतीय सेनाको ज्यान जानेगरी आक्रमण गरेपछी भारत र पाकिस्तान बिच विवाद बढ्दै गएको छ । भारतले उक्त हमलामा संलग्न आतंकवादी पाकिस्तानबाट छिरेको बताएको छ भने पाकिस्तानले भारतीय आरोपलाई अस्वीकार गरेको छ ।
भारतको दाबी अनुसार आफ्ना सेना मारिएको बदला लिन उसले दुई दिनअघि पाकिस्तान नियन्त्रित कास्मिरमा ‘सर्जिकल अपरेसन’ गरेको थियो । सो अपरेसनमा आफ्ना दुई सेना मारिएको पाकिस्तानले बताएको छ । भारतले गरेको आक्रमणको पाकिस्तानले जवाफी कारबाही गर्नसक्ने आशंका भारतमा रहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्