सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुद्दैमुद्दाले डुबायो सिलवाललाई, सांसद पद धरापमा

हालै सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पूर्व डिआईजी नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाण्डौमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ ।

डिआइजीको कार्यसम्पादन मुल्यांकन कीर्ते गरेको बारे अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएसँगै सिलवालविरुद्ध मुद्धा जाहेरी दर्ता भएको हो । सर्वोच्च अदालतले डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै कीर्ते गर्नेहरुलाई अनुसन्धान गरी कारबाहीको आदेश दिएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ न्यायाधीशले हस्ताक्षर गरेको फैसलाको पूर्ण पाठमा नवराज सिलवालले पेश गरेको कागजातमाथि प्रश्न उठाउँदै भनिएको छ–‘कार्यसम्पादन मूल्यांकन फारम र निवेदक (नवराज सिलवाल) ले पेश गरेको कार्यसम्पादन मूल्यांकन फारमको अंक फरक पार्ने कार्यमा के कसको संलग्नता रहेको छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषी देखिएका उपर कारवाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउनू ।’

सर्वाेच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवालविरुद्ध बुधबार जाहेरी दर्ता भएको हो । जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएसँगै सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन् । हाल प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान सकिएपछि जिल्ला अदालतमा मुद्दा दर्ता हुनेछ ।

तत्कालिन सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पाद मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको दियो ।

सोही आधारमा सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाएको थियो । त्यसमा असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गरिदिएको थियो । आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन ।

उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गर्यो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्