कालीकोटमा पुलीसले गोली चलायो, एकको मृत्यु
कालीकोटमा प्रहरी र म्यादी प्रहरीबीच भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । आफुहरुले पाउनुपर्ने तलव कटाइएको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेपछी प्रहरी र म्यादी प्रहरीबीच झडप भएको थियो ।
प्रहरीले जनाए अनुसार म्यादी प्रहरीहरुको प्रदर्शनले उग्र रुप लिएपछी प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि पनि स्थिति नियन्त्रणमा आउन नसकेपछी प्रहरीले गोली चलाएको जानकारी गराएको छ ।
प्रहरीले चलाएको गोली लागि सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी म्यादी पुलिस विवेक ऐडीको मृत्यु भएको छ । गोली लागेर ढलेको आधा घण्टासम्म पनि ऐडीलाई कसैले छोएको थिएन । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर शुभास शर्माले जनाएका छन ।
गोली लागेर ढलेको आधा घण्टापछी ऐडीलाई पत्रकार, नागरीक समाजका अगुवा र उद्योग वाणिज्य महासंघका पदाधीकारीको पहलमा जिल्ला अस्पताल पुर्याईएको थियो । म्यादी पुलिसले अन्तिम महिना पाउनुपर्ने तलव भत्तामा जिल्ला प्रहरी कार्यालय कालीकोटले ३ हजार कटाएपछी उनीहरु आन्दोलित भएका थिए ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक जनाको मृत्यु भएको खबर आफुले पाएको बताएका छन । प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार विदाई भएका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको हो । घटनास्थलमा रहेका प्रत्यक्षदर्शिहरुका अनुसार म्यादी प्रहरीले ढुंगामुढा गरेपछि प्रहरीले अन्धाधुन्दा गोली चलाएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्