कमल थापाले भेटे पुर्वराजालाई, के कुरा भयो होला ?
पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाबीच नेपालगञ्जस्थित भुजईगाँउमा रहेको होटल सोल्टीमा भेटघाट भएको छ । करिव डेढघन्टासम्म चलेको पुर्वराजासँगको यो भेटलाई कमल थापाले ‘शिष्टाचार भेट’ मात्रै भएको बताएका छन ।
पुर्वराजा ज्ञानेन्द्र शाह केही दिनदेखि नेपालगञ्जमा छन् । शनिबार पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि थापाले भने–‘उहाँसँग (पूर्वराजा) शिष्टाचार भेट भएको हो । शिष्टाचार कुरा मात्रै भयो, अन्य केही भएन ।’ थापाले अघि थपे, ‘उहाँले राप्रपाको कार्यक्रमबारे चासो राख्नुभयो र मैले पनि उहाँको भ्रमणको बारेमा जिज्ञासा राखेको थिएँ ।’
पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य र सुदूरपश्चिम भ्रमण राजनीतिक उद्देश्यले अभिप्रेरित नभएको पाएको अध्यक्ष थापाले बताएका छन । थापाले भने, ‘होटल सोल्टीको उद्घाटन र धार्मिक भ्रमणको लागि मात्र आएको पाएँ ।’
राप्रपा अध्यक्ष थापाले निर्वाचनको पराजयका कारण हतोत्साहित कार्यकर्तालाई हौसला प्रदान गर्न देश दौडाहमा निस्किएको बताएका छन । निर्वाचनको परिणामबाट कत्ति पनि नआत्तिन अनुरोध गर्दै उनले भने–‘तीन प्रतिशत भन्दा कम मत आउँछ भनेर हामीले सोचेका पनि थिएनौं । यो परिणामले कार्यकर्तामा केही निराशापन छाएको छ । तर आत्तिनुपर्दैन एकपटक लडेपछि फेरि उठ्न सकिन्छ ।’
उनले निर्वाचनको हारबाट शोक मनाउनुभन्दा समिक्षा गर्दै कारण पत्ता लगाउन देश दौडाहमा लागेको बताए । ‘हारको पीडामा विरक्तिएर रोइलो गर्नुभन्दा गाउनु वेस’ उनले थपे, ‘त्यसैले हारबाट पाठ सिक्दै पुनः स्थापित हुन गइरहेका छौं ।’
सत्तामुखी प्रवृतिले गर्दा राप्रपा खुम्चिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष थापाले भने, ‘जनताले त्यही सोचेर नै सडकमा पुर्याएका होलान् । अब हामी सच्चिएर अगाडि बढ्ने छौँ ।’
राप्रपाको हारले देशमा हिन्दु धर्म र राष्ट्रियता संकटमा परेको अध्यक्ष थापाले उल्लेख गरेका छन । उनले भने–‘राजतन्त्र र हिन्दूत्वको एजेण्डा बोकेको पार्टीले राष्ट्रिय पार्टी नै बन्न नसक्ने गरी ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्नु दुर्भाग्यपुर्ण हो ।’
अब सदनमा राजतन्त्र र हिन्दूत्वको विषयमा आवाज उठाउनेहरुको उपस्थिति नै नहुने अवस्था आएको उनले बताएका छन । ‘हामीले हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डा बोक्दा ग्रहदशा विग्रियो, जनताले सडकमा ल्याए’ उनले भने, ‘अब एजेण्डा पनि अहिले कमजोर भएका छन् तर अब सडकबाटै एजेण्डा स्थापित गर्न संघर्ष गर्छौं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्