सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कमल थापाले भेटे पुर्वराजालाई, के कुरा भयो होला ?

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाबीच नेपालगञ्जस्थित भुजईगाँउमा रहेको होटल सोल्टीमा भेटघाट भएको छ । करिव डेढघन्टासम्म चलेको पुर्वराजासँगको यो भेटलाई कमल थापाले ‘शिष्टाचार भेट’ मात्रै भएको बताएका छन ।

पुर्वराजा ज्ञानेन्द्र शाह केही दिनदेखि नेपालगञ्जमा छन् । शनिबार पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि थापाले भने–‘उहाँसँग (पूर्वराजा) शिष्टाचार भेट भएको हो । शिष्टाचार कुरा मात्रै भयो, अन्य केही भएन ।’ थापाले अघि थपे, ‘उहाँले राप्रपाको कार्यक्रमबारे चासो राख्नुभयो र मैले पनि उहाँको भ्रमणको बारेमा जिज्ञासा राखेको थिएँ ।’

पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य र सुदूरपश्चिम भ्रमण राजनीतिक उद्देश्यले अभिप्रेरित नभएको पाएको अध्यक्ष थापाले बताएका छन । थापाले भने, ‘होटल सोल्टीको उद्घाटन र धार्मिक भ्रमणको लागि मात्र आएको पाएँ ।’

राप्रपा अध्यक्ष थापाले निर्वाचनको पराजयका कारण हतोत्साहित कार्यकर्तालाई हौसला प्रदान गर्न देश दौडाहमा निस्किएको बताएका छन । निर्वाचनको परिणामबाट कत्ति पनि नआत्तिन अनुरोध गर्दै उनले भने–‘तीन प्रतिशत भन्दा कम मत आउँछ भनेर हामीले सोचेका पनि थिएनौं । यो परिणामले कार्यकर्तामा केही निराशापन छाएको छ । तर आत्तिनुपर्दैन एकपटक लडेपछि फेरि उठ्न सकिन्छ ।’

उनले निर्वाचनको हारबाट शोक मनाउनुभन्दा समिक्षा गर्दै कारण पत्ता लगाउन देश दौडाहमा लागेको बताए । ‘हारको पीडामा विरक्तिएर रोइलो गर्नुभन्दा गाउनु वेस’ उनले थपे, ‘त्यसैले हारबाट पाठ सिक्दै पुनः स्थापित हुन गइरहेका छौं ।’

सत्तामुखी प्रवृतिले गर्दा राप्रपा खुम्चिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष थापाले भने, ‘जनताले त्यही सोचेर नै सडकमा पुर्याएका होलान् । अब हामी सच्चिएर अगाडि बढ्ने छौँ ।’

राप्रपाको हारले देशमा हिन्दु धर्म र राष्ट्रियता संकटमा परेको अध्यक्ष थापाले उल्लेख गरेका छन । उनले भने–‘राजतन्त्र र हिन्दूत्वको एजेण्डा बोकेको पार्टीले राष्ट्रिय पार्टी नै बन्न नसक्ने गरी ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्नु दुर्भाग्यपुर्ण हो ।’

अब सदनमा राजतन्त्र र हिन्दूत्वको विषयमा आवाज उठाउनेहरुको उपस्थिति नै नहुने अवस्था आएको उनले बताएका छन । ‘हामीले हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डा बोक्दा ग्रहदशा विग्रियो, जनताले सडकमा ल्याए’ उनले भने, ‘अब एजेण्डा पनि अहिले कमजोर भएका छन् तर अब सडकबाटै एजेण्डा स्थापित गर्न संघर्ष गर्छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS