सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोविन्द केसीको पक्षमा गर्जिए रविन्द्र र गगन थापा

डा.गोविन्द केसीको गिरफ्तारी बिरुद्द माईतिघर मण्डलामा भएको प्रदर्शनमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्नेहरुलाई पनि मानहानीको मुद्दा लगाउन चुनौती दिएका छन् ।

डा. केसीलाई पक्राउ गरेको विरोधमा माइतीघर मण्डलामा मंगलबार बिहान भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायतका सहभागी भएका थिए ।

विगतमा राजाविरुद्ध बोलेको अभियोगमा आफूविरुद्ध राजद्रोहको मुद्दा लागेको स्मरण गर्दै उनले भने, ‘मेरो पक्षमा बहस गरिरहनु भएकाले सुवास नेम्वाङले श्रीमान, एकछिन कुर्नुस, बाहिर के नारा लागिरहेको छ सुनौं भन्नुभयो । नारा लाग्यो ‘ज्ञाने चोर देश छोड’ ।

त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकैपटक सजाय दिनुपर्छ ।’

त्यसपछि आफूहरु तारेखमा रिहा भएको स्मरण गर्दै गगनले भने, ‘आज म त्यही दिन सम्झिएर सम्मानित अदालतप्रति इज्जत गर्दै आग्रह गर्न चाहन्छु । श्रीमान, डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैैलाई त्यो मानहानी लागोस् ।’

उनले अघि भने, ‘यो सम्मानित अदालत कुनै कानुनको धारामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ र जनताको विश्वास गुमाएको दिन लडखराउँछ ।’ उनले डा. केसी पक्राउ परेको घटनाले अदालतको प्रतिष्ठा नबढाएको बरु प्रतिशोध साँधेको जस्तो देखिएको बताएका छन ।

त्यसैगरी विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनक भएको बताएका छन् । उनले भने, ‘सर्वोच्चले आदेश दिएपछि वर्षौंसम्म कारबाही नभएको उदाहरण छन् । तर, डा. केसी जस्तो निष्ठा बोकेका व्यक्तिलाई रातारात हठात गिरफ्तार गरियो, यो निन्दनीय छ । सरकारका लागि लज्जाजनक विषय हो ।’

न्यायालय, कर्मचारीतन्त्रका साथै स्वतन्त्र रहनुपर्ने निकायहरु राजनीतिकरण गरिएको र त्यही राजनीतिकरणको परीणाम यो घटना पनि भएको मिश्रले बताएका छन । डा. केसीले उठाएको आवाज सर्वोच्च र सिंहदरबारले पनि सुन्नुपर्ने भन्दै मिश्रले भने, ‘उनलाई रिहा गरेर उनले जुन गम्भीर आरोप लगाएका छन, त्यसबारे छानविन हुर्नैपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्