दसैँको उपहार लिएमा प्रहरीलाई कारबाही
दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, उपहारसँगै पुलिस खोरमा थुनिनु पर्ला ।
विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन कडा निर्देशन गरिएको छ ।
दशैंको उपहारका नाममा कुनै चिज–वस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा मातहतका सबै ईकाइलाई पत्राचार नै गरेको छ ।
ट्राफिक महाशाखा प्रमुख डिआईजी प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरा लगायतका वस्तु उपहार लिनु र दिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको बताउनुभएको छ ।
डिआईजी अर्यालले भन्नुभयो–‘प्रहरीले यस्तो कुरा लिनै मिल्दैन । यदि कसैले लिएको पाइएमा तत्काल कारबाही हुनेछ र दिनेलाई समेत कारबाही हुन्छ ।’
अर्यालले उपहार लिने र दिने नाममा चाडबाडमा प्रहरी बदनाम हुने गरेकाले कोही दिन आएमा फिर्ता गर्न निर्देशन दिनुभएको छ । महाशाखा अन्तर्गत उपत्यकामा रहेका प्रत्येक प्रभाग र वृत्तलाई दसैँको उपहार नलिन निर्देशन गरिएको छ ।
महाशाखाले दसैँ र तिहारमा मापसे चेकिङलाई कडा र प्रभावकारी बनाउने तयारी गरेको छ । चाडबाडको रमाइलोका नाममा मदिरा सेवन अधिक हुने भएकाले सवारी दुर्घटना नियन्त्रण गर्न मापसे चेकजाँच कडा पारिएको हो ।
यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि मातहतका प्रहरी कार्यालय वृत्त, प्रभाग र विट प्रमुखलाई क्षमताले भ्याए खसी नभ्याए फर्सी खाएर दसैँ र तिहार मनाउन निर्देशन दिएको छ । दशैँको उपहारका नाममा कुनै पनि वस्तु नलिन परिसरले मातहतका कार्यालयलाई कडा निर्देशन दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्