सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अदालत बिरुद्ध नबोल्न डा.केसीलाई चेतावनी

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले डा.गोविन्द केसीलाई जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित नपार्न चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा नेता डा. महतले भने–‘अदालत भनेको स्वतन्त्र न्यायपालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन ।’

अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो । उनले भने, ‘दलहरुले अदालतलाई प्रभाव पार्ने कुरा गर्नुहुँदैन, यो गलत हुन्छ ।’ महतले डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको विषयप्रति टिप्पणी गर्दै राजीनामा दिने नदिने प्रधानन्यायाधीशको आफ्नो कुरा भएको भन्दै डा. केसीका आरोपका आधारहरु प्रमाणित गर्नुपर्ने बताएका छन ।

यद्यपी उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय पूरा भएको पनि जानकारी दिएका छन । उनले भने–‘केसीले उठाएका मेडिकल एजुुकेशन सम्बन्धी माग राम्रो हो, त्यसको सम्बोधन गर्न मैले पनि पहल गरेकै हो ।’

नेता महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने विषय भएको पनि स्पष्ट पारेका छन ।

उनले भने, ‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन ।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाई छ ।

नेता महतले मुलुकमा निर्वाचनपछि संक्रमणकाल सकिएको भनिएपनि नयाँ संक्रमणको सुरुवात भएको गुनासो राखेका छन । संघीय प्रणालीमा मुलुक जाँदा नयाँ खाले संक्रमणहरुको सुरुवातहरु देखिएको उनको भनाई थियो ।

आफूले सुरुवातदेखि नै संघीय व्यवस्था मुलुकले धान्न सक्ने खालको बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएको स्मरण गर्दै भने, ‘अहिले ११५ अर्ब ऋण लिइएको छ, अनुत्पादक खर्चहरु भएका छन, मितव्ययी बनाउनुपर्छ भनेर म सुरुदेखि नै बोल्दै आएको छु ।’

संवैधानिक व्यवस्थामा नै जटिलताहरु भएकोले अहिले नयाँ सरकार गठनमा ढिलाई भैरहेको उनको तर्क थियो । ‘कसैलाई दोष दिने ठाउँ छैन, संविधानमा नै हामीले अप्ठ्यारा प्रावधानहरु राखेका छौं ।’ उनले भने, ‘नयाँ म्याण्डेटअनुसार नयाँ सरकार बन्नुपर्छ, तर अहिलेका प्रधानमन्त्रीको नियत सफा छ, बाध्यकारी भएरमात्रै उहाँ बसिरहनुभएको हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्