राष्ट्रिय सभामा कहाँ कसको बहुमत ? संख्यासहित
राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ–आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगत रुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका उम्मेदवारलाई मात्र मत दिन पाउनेछन् ।
प्रत्येक प्रदेशका तीन महिला र तीन खुला सदस्यको निर्वाचन एकल संक्रमणीय प्रणाली अनुसार भए पनि दलित, अपांग र अल्पसंख्यकको निर्वाचन भने बहुमतीय प्रणालीबाटै हुनेछ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभामा निर्वाचित तथा समानुपातिक सांसदहरुले मतदान गर्नेछन् ।
स्थानीय तहका निर्वाचित प्रमुख, उपप्रमुख र प्रदेश सांसदहरुको संख्या अनुसार २ नम्बर प्रदेश बाहेक अन्य सबै प्रदेशमा बामपन्थी गठबन्धन बहुमतमा छ । प्रदेश नम्बर १, ३ र ६ मा एमालेको एकल बहुमत देखिएको छ । प्रदेश २ मा भने संघीय समाजवादी फोरम र राजपा मिल्दा उनीहरुको बहुमत हुने देखिन्छ ।
स्थानीय तहमा लोकतान्त्रिक फोरमबाट जितेका प्रमुख र उपप्रमुखहरुमध्ये रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल बाहेक अन्यलाई कांग्रेसका मतदातामा गनिएको छ । शुक्ल भने एमाले प्रवेश गरिसकेका छन् ।
त्यस्तै, डोल्पाका तीनजना स्वतन्त्र प्रमुख उपप्रमुख पनि चुनाव लगत्तै एमाले प्रवेश गरेका कारण एमालेका मतदातामा गनिएको छ । मुस्ताङमा स्वतन्त्र जितेका गाउँपालिका अध्यक्ष पनि एमाले प्रवेश गरेका छन् भने मनाङमा प्रदेशसभामा स्वतन्त्र जितेका राजिव गुरुङले आफू एमालेकै प्रतिनिधि भएको दावी गरेका कारण उनलाई पनि एमालेको मतदातामा राखिएको छ ।
तर, राष्ट्रियसभामा स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिले दिएको मत भने बराबर गनिदैन । एकजना प्रदेशसभा सदस्यको मत ४८ गनिनेछ भने स्थानीय तहका एकजना मतदाताको मत १८ गनिनेछ ।
स्थानीय तहमा एमालेभन्दा केही सिटले पछि परेको कांग्रेस प्रदेशसभामा भने धेरै पछाडि छ । धेरै मतभार हुने प्रदेशसभामा कांग्रेस कमजोर भएका कारण एकल संक्रमणीयबाट पनि कांग्रेसले धेरै लाभ पाउने सम्भावना छैन ।
प्रदेशमा यस्तो छ हिसावकिताव
प्रदेश नम्बर १ बाट एमालेको कुल मतदाता संख्या २०४ छ । यो प्रदेशमा माओवादीको कुल मत ३५ समेत थपिँदा बामपन्थी गठबन्धनको पक्षमा २३९ मत हुनेछ । कांग्रेसका कुल मतदाता ११८ रहेको छ भने संघीय समाजवादी फोरमका ७ जना मतदाता छन् ।
प्रदेश नम्बर २ मा कुल मिलाएर कांग्रेसका ९१ मतदाता छन् । एमालेका कुल मिलाएर ६१ मतदाता हुनेछन् । त्यस्तै माओवादीका ५५ मतदाता छन् । वामपन्थी गठबन्धनको पक्षमा यो प्रदेशबाट ११६ मतदाता हुनेछन् ।
राजपाका कुल मिलाएर ७९ मतदाता हुनेछन् । संघीय समाजवादी फोरमका ७७ मतदाता छन् । मधेशवादी दलको गठबन्धन बनाएर चुनावमा जाँदा यो गठबन्धनको पक्षमा २ नम्बर प्रदेशमा १५६ मतदाता हुनेछन् ।
प्रदेश नम्बर ३ मा एमालेका कुल मतदाता १९३ हुनेछन् । त्यस्तै माओवादीबाट कुल ४८ जना मतदाता छन् । कुल मिलाएर यो प्रदेशबाट वामपन्थी गठबन्धनका २४१ मतदाता हुनेछन् । त्यस्तै कांग्रेसको कुल मतदाता संख्या ८३ हुनेछ । यो प्रदेशबाट विवेकशील, राप्रपा, नयाँ शक्तिका पनि केही मतदाता छन ।
प्रदेश नम्बर ४ मा एमाले र कांग्रेसका मतदाता संख्या लगभग बराबरी देखिएको छ । कुल मिलाएर यो प्रदेशमा एमालेका ९८ जना मतदाता छन् । माओवादीका कुल २९ मतदाता र एमालेका ९८ मिलाउँदा वामपन्थी गठबन्धनको पक्षमा १२७ मत हुनेछ । नेपाली कांग्रेसको कुल मिलाएर ९६ मत हुने यो प्रदेशसमा एकल संक्रमणीयबाट कांग्रेसले एक वा दुई सिट जित्न सक्छ ।
प्रदेश नम्बर ५ मा एमालेका १३१ मतदाता हुनेछन् । त्यस्तै माओवादीका मतदाता संख्या ५८ रहेको छ । यसरी ५ नम्बर प्रदेशमा बामपन्थी गठबन्धनका १८९ मतदाता छन् । नेपाली कांग्रेसको कुल मतदाता संख्या ८७ हुनेछ । यो प्रदेशबाट संघीय समाजवादी फोरमका १६ मतदाता छन् । राजपा, राजमो र नयाँ शक्तिका पनि केही मत छन् । तर ती निर्णायक हुने अवस्था छैन ।
प्रदेश नम्बर ६ मा एमालेको एकल बहुमत छ । कुल मिलाएर एमालेको ७९ मत छ । माओवादीको ६७ मत जोड्दा वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत हुनेछ । यो प्रदेशबाट कांग्रेसका ४८ मतदाता हुनेछन ।
७ नम्बर प्रदेशमा एमालेका १०८ मतदाता हुनेछन् । माओवादीका स्थानीय तहमा १९ र प्रदेशसभामा १९ गरि ३८ मतदाता छन् । वामपन्थी गठबन्धनको यहाँ पनि बहुमत हुनेछ । कांग्रेसका मतदाता ८६ हुनेछन । यहाँ कांग्रेसले एकल संक्रमणीयबाट एक दुई सिट जित्न सक्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्