सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

माल्दिभ्स र भुटानका खेलाडी भारतीय भएको आशंका

एसियन सेभेन–ए–साइड फुटबल महासंघले साउथ एसियन फुटबल प्रतियोगितामा सहभागी देशले तीन जना खेलाडी विदेशी राख्नसक्ने प्रावधान रहेको दाबी गरेको छ ।

१२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्सले तीन जना खेलाडी भारतको राखेको विषयमा विवाद सुरु भएपछि महासंघले स्पष्ट पार्दै एउटा देशले तीनजना विदेशी खेलाडी राख्न पाउने बताएको हो ।

यद्यपि त्यसरी खेलाडी राख्दा सम्बन्धित देशको नो अब्जेक्सन लेटर चाहिने एसियन सेभेन–ए–साइड फुटबल प्रतियोगिताका महासचिव डी रवि कोण्डियाले बताएका छन । तर, पोखरामा भईरहेको १२ औं साउथ एसियन सेभेन–ए–साइड फुटबल प्रतियोगितामा माल्दिभ्सबाट खेल्ने सबै खेलाडी भारतीय रहेको आशंका गरिएको छ ।

गोल नेपाल डटकमका विक्रम थापाका अनुसार माल्दिभ्स र भुटानका ओलम्पिक कमिटीले आफ्नो देशमा सेभेन–ए–साइड फुटबल महासंघ नरहेको र सेभेन ए साइड फुटवल टिम पनि नरहेको जनाएका छन् । त्यस्तै खेल्न आएका खेलाडीको पासपोर्ट पनि नरहेको बताइएपछि ती देशबाट खेलेका सबै खेलाडी भारतको भएको हुनसक्ने आशंका गरिएको हो ।

महासचिव कोण्डियाले क्रिकेटमा टी–ट्वान्टी प्रतियोगितामा पनि एक देशले अर्को देशको खेलाडी प्रयोग गर्न पाउने नियम रहेको दाबी गर्दै सोही आधारमा टेकेर एसियन सेभेन–ए–साइड फुटबल महासंघले पनि यो नियम बनाएको जिकिर गरेका छन ।

उनले हुँदै नभएको समस्या देखाएर खेल प्रभावित पार्न खोजेको बताउँदै प्रतियोगिताबारे कहिंकतै समस्या नभएको दाबी गरेका छन । उनले माल्दिभ्सबाट खेलेका खेलाडी माल्दिभ्सको बोर्डर क्षेत्रका रहेको र भारतले नो अब्जेक्सन लेटर दिएकाले उनीहरुले खेल्न पाउने दाबी गरेका छन ।

महासंघका महासचिव कोण्डियाले सेभेन–ए–साइड फुटबल प्रतियोगिता नेपालबाटै सुरु गरेर १२ औं संस्करणमा आउँदा तेश्रोपटक नेपालमा भइरहेको भन्दै यसको विरोध गरेर खेल क्षेत्र नधिमिल्याउन आग्रह गरेका छन । उनले २०२० मा नेपालमै सेभेन–ए–साइड वर्ल्ड च्याम्पियनसीप गर्न लागेको पनि बताएका छन ।

प्रतियोगिता संयोजक तथा नेपाल सेभेन–ए–साइड फुटवल महासंघका अध्यक्ष नवीन पुनले पनि संस्थाको नियम अनुसार नै माल्दिभ्सले सीमा क्षेत्रका ३ खेलाडी खेलाएको बताएका छन ।

उनले काम गर्ने क्रममा गल्ती भए सच्याउन सकिने भएपनि हुँदै नभएको गल्ती देखाएर प्रतियोगितामा अवरोध सिर्जना गर्ने प्रयास भएको बताएका छन । उनले भने–‘गल्ती छ भने सच्याउन सकिन्छ, तर हुँदै नभएको गल्ती देखाएर प्रतियोगिता प्रभावित पार्न खोजिदैछ ।’

शंकास्पद खेलाडीमाथी छानविन गर्न एन्फाको माग

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका पूर्व सचिव सुदर्शन रञ्जितले विज्ञप्ति जारी गर्दै प्रतियोगितामा माल्दिभ्सका खेलाडीमाथि उठेको प्रश्नको छानविन गर्न माग गरेका छन् । उनले नेपालमा भइरहेको खेलमा खेलाडी विवाद हुँदा नेपालको अन्र्तराष्ट्रिय छवि बिग्रने भन्दै विवादको सत्यतथ्य पत्ता लगाउन छानविन गर्न माग गरेका हुन् ।

उनले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायतलाई प्रतियोगितामा उठेको विवादबारे छानविन गर्न माग गरेका हुन् ।

तर, नेपाल सेभेन–ए–साइड फुटवल महासंघ फुटबलको सर्वोच्च निकाय फिफा, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद लगायत कुनैपनि संस्थासँग आबद्ध नभएको देखिएको छ ।

यसैलाई आधार मान्दै एसियन सेभेन–ए–साइड फुटवल महासंघका महासचिव डी रवि कोण्डियाले छुट्टै संस्था भएकाले कसैले पनि आफूहरुलाई कार्वाही गर्न नसक्ने दाबी गरेका छन । कुनैपनि खेलकुद संस्था स्पोर्टस काउन्सिलमा दर्ता हुनुपर्ने भएपनि नेपाल सेभेन–ए–साइड फुटबल महासंघ दर्ता नभएको देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS