सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रवल गुरुङले बनाएको टिसर्ट अमेरिकामा खोसाखोस

prabal-gurung-design

फेसन डिजाईनको दुनियाँमा प्रवल गुरुङ चर्चित नाम हो । पछिल्लो समय प्रवलको डिजाईन कला र माग अन्र्तराष्ट्रिय क्षेत्रमा चुलिँदो छ । नेपाली मुलका बिश्वचर्चित फेसन डिजाइनर प्रवल गुरुङ हाइप्रोफाइल डिजाइनर पनि हुन् ।

उनका डिजाइन अमेरिकी राष्ट्रपति पत्नी मिसेलदेखि बेलायती राजकुमारी केटसम्मले लगाएका छन् । उनै प्रवल गुरुङलाई यतिबेला अमेरिकी राष्ट्रपति चुनावको चटारो छ र उनी यो चुनावी अभियानको एउटा हिस्सा बनेका छन् ।

हिलारी क्लिन्टनलाई राष्ट्रपति बनाउने अभियानमा लागेका प्रवलले डिजाइन गरेका टिसर्ट यतिबेला अमेरिकामा खोसाखोस भइरहेको छ । हिलारीलाई आर्थिक सहयोग जुटाउन उनले डिजाइन गरेको मेड फर हिस्ट्री उल्लेखित रातो टिसर्ट सोल्ड आउट भएको हिलारीको चुनाव अभियान सम्बन्धी वेबसाइटले जनाएको छ ।

prabal-gurung-t-shirt-design

प्रवलले डिजाइन गरेको यो टिसर्टको मूल्य ४५ अमेरिकी डलर रहेको छ । नेपालमा जन्मिएका प्रवल झण्डै डेढ वर्षअघि अमेरिकी नागरिक बनेका थिए । अहिले डेमोक्रेटिक तर्फबाट राष्ट्रपति उम्मेदवार बनेकी क्लिन्टनले उनकै विश्व चर्चित प्रतिभालाई चुनावमा प्रयोग गरेकी छन् ।

प्रवल क्लिन्टनका सेलिब्रेटी सपोर्टर मध्येका एक हुन् । अमेरिकन पत्रिका ‘फास्ट कम्प्यानी’लाई दिएको एक अन्तरवार्तामा प्रवलले आफ्नो समर्थन हिलारीलाई हुनुको कारण खुलाउँदै भनेका छन–‘उनी वर्तमान र विगतका राष्ट्रपति भन्दा योग्य छिन् ।’

क्लिन्टन र गुरुङको मित्रता २०१४ देखि सुरु भएको हो । त्यसबेला एक कार्यक्रममा भेट हुँदा आफूले क्लिन्टनसँग चिनजानका लागि परिचय गर्दा हिलारीले पहिले नै चिनेको बताएकी थिइन् । त्यस्तो सुन्दा प्रवल छक्क परेका थिए ।

प्रवलले भनेका छन–‘उनले आफ्नो छोरी चेल्सी (जो गुरुङले डिजाइन गरेको ड्रेस लगाउँछिन) का कारण मलाई चिन्ने बताइन् ।’ ‘मेड फर हिस्ट्री’ फेसन केन्द्रीत प्रोजेक्ट हो, जुन क्लिन्टनले आफ्नो चुनावी अभियानमा सुरु गरेकी छन् । जसमा उनलाई राष्ट्रपति देख्न चाहने सेलिब्रेटीको हस्ताक्षर स्टाइल प्रयोग गरेर टिसर्ट डिजाइन गरिएको छ । हिलारीको टिमसँगको सहमतिपछि प्रवलले सेतो र हरियो फूल बुट्टा भएको रातो टिसर्ट डिजाइन गरेका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्