सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छोराहरुले नहेरेपछी ८० बर्षिय बृद्धको बिचल्ली

बुढेसकालको सहारा सन्तान बन्ला भन्ने सपना हरेक आमाबावुको हुन्छ । तर, ८० वर्षीय श्रीलाल मण्डललाई छोराहरुले जीवनको अन्तिम अवस्थामा घरबाट निकालेपछि उनको विजोग भएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिकाको खजुरी प्रखे महुवा निवासी मण्डललाई उनका छोराहरुले सम्पती आफ्नो नाममा पारी घरबारविहीन बनाएका छन् । छोराहरुले पुस्तेनी घडेरी र जग्गा आफ्नो नाममा गराएर घरबाट निकालेपछि उनी न्यायको गुहार माग्दै बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा छोराविरुद्ध निवेदन दर्ता गराएका छन् ।

मण्डलका दुई छोरा रविन्द्र मण्डल र श्यामसुन्दर मण्डलले २०६६ सालमै अंश बाडँफाँट गरी बुवाको नाममा रहेको सम्पत्ति आफ्नो नाममा गराएका थिए । अंशबण्डाको बेला गरिएको कागजमा दुवै छोराले घरको जग्गा मध्येको केही भागमा बुवालाई बसोबास गर्न दिने सहमति समेत भएको थियो ।

तर, जग्गा छुट्याएर मञ्जुरनामा कागजमा सहिछाप लगाएको आठ वर्ष वितिसक्दा पनि छोराहरुले मण्डललाई न त खेतीपातिको उब्जाउबाट केही दिएका छन् नत घरमै बस्न दिएका छन् ।

आफ्नो गुजाराको लागि हिस्सा माग्दा उल्टै घरबाट बाहिर निकालिएको श्रीलालले गुनासो पोखेका छन । कान्छो छोरा सानै छँदा श्रीलालकी श्रीमतिको मृत्यु भएको थियो । जेनतेन दुखकष्ट गरेर दुवै छोरालाई उनले हुर्काए ।

बुढेसकालमा सहारा हुने सोचेर आफ्नो सबै सम्पति पनि छोराहरुको नाममा गरिदिए तर अहिले छोराहरुले दुश्मनझैं व्यवहार गरिराखेका छन् श्रीलालले गहभरी आँशु पोख्दै भने ।

आठ वर्षदेखि घरबारविहिन भई जेनतेन गुजारा चलाउँदै आएका श्रीलालले सहनै नसकेपछि छोराहरुबाट न्याय दिलाई दिन प्रशासनलाई गुहार्न पुगेको बताएका छन । उनका जेठा छोरा रविन्द्र गाउँमै जीवनबिमा पोलिसिको एजेन्टको काम गर्छन् भने कान्छा छोरा बेरोजगार छन् ।

श्रीलाल हाल सिरहामा आफ्नो नातेदार कहाँ बस्दै आएका छन । आफूले पाउने वृद्धभत्ताबाट जेनतेन गर्जो टार्दै आएको र खानबस्न अरुको मुख ताक्नुपर्ने अवस्था भएकाले छोराहरुबाट न्याय दिलाई दिन उनी सबैसँग आग्रह गर्दै आएका छन् ।

(यो समाचार मनिका झाले अन्नपुर्णपोष्टमा लेखेकी हुन । सोही समाचार जस्ताको तस्तै साभार गरिएको हो ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्