सल्यानमा बस दुर्घटना, ४ को मृत्यु, २१ घाईते
सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमध्ये रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको मात्र सनाखत भएको छ । अरू दुई जना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा कति जना सवार थिए भन्ने यकीन नभएको प्रहरीले जानकारी गराएको छ ।
घाइतेहरूको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि दाङ र बाँके लगिएको प्रहरीले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्