डिएसपी प्रसाई परस्त्रीको कोठामा थुनिएपछी
दाङमा डिएसपी परस्त्रीको कोठामा थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानविन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण प्रसाई परस्त्री काण्डमा मुछिएको घटना बाहिर आएको हो ।
डिएसपी प्रसाई महिलाको कोठामा थुनिएको बिषयमा छानबिन गर्न अञ्चल प्रहरी कार्यालय राप्तीका वरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो । प्रहरी नायव महानिरीक्षक माधव नेपालको निर्देशनमा छानबिन समिति गठन गरिएको हो ।
छानविन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्याल रहनुभएको छ । छानबिन टोलीले ५ दिनभित्र प्रतिवेदन तयार पारेर क्षेत्रमा बुझाउने जिम्मेवारी पाएको छ ।
अनुसन्धानका लागि गठन भएको छानबिन टोलीले विवादमा तानिएका प्रहरी नायब उपरीक्षक प्रसाई, उनलाई ताला फोरेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछ समेत गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।
प्रहरी स्रोतका अनुसार प्रसाईंले ‘भान्जी’ गणित विषयमा कमजोर भएकाले सिकाउन जाने गरेको बयान दिएका छन् भने ति महिलाले तिहारमा टिका लगाउने दाइ भएको बताएकी छन् । उद्धारमा खटिएका प्रहरीले राति करिब ११ बजे कोठामा थुनिएकाले डीएसपी प्रसाईंलाई घरमा लगाएको ताला फोरेर बाहिर निकालेको बताएका छन् ।
ति महिलाको नजिकको नाता पर्ने एक व्यक्तिले डीएसपी प्रसाई कोठामा पसेको मौका पारी ताला लगाइदिएका थिए । यता छानबिन समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले यो गम्भिर विषय भएकाले छानबिन टोली गठन गरेर अनुसन्धान सुरु गरिएको बताउनुभएको छ ।
संयोजक चन्दले भन्नुभयो–‘अनुसन्धान सुरु भएको छ, दोषी पाइएमा प्रहरी नियमावली अनुसार कारबाही हुन्छ ।’ चन्दका अनसार प्रहरीको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । प्रतिवेदन क्षेत्र हँुदै केन्द्रमा पठाइनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्