सिराहामा वडाध्यक्षले गरे समाज परिवर्तनको सुरुवात
सहर होस् वा गाउँ । बिहेको पाटी होस् वा अन्य कुनै कार्यक्रम । डिजे साउण्डमा नेपाली र मैथिली गीत बज्दैन । अश्लिल भोजपुरी गीत बज्छ । अश्लिल भएपनि भोजपुरी गीत नै रुचाउनेको संख्या बढी छ ।
मदिरा सेवन गर्ने त फेसन नै चलेको छ । अहिले गाउँघरमा औषधि पसल भेट्न कठिन हुन्छ । तर, मदिरा त कपाल काट्ने सैलुनमा पनि उपलब्ध हुन थालेको छ ।
चर्को स्वरमा बजाउने डिजे साउण्ड, भोजपुरी गीत र मदिराले समाजमा विकृति बढाएको छ । भोजपुरी अश्लिल गीतमा प्रतिबन्ध लगाउनुपर्ने प्रायः गाउँका बुद्धिजीविको बुझाइ छ । तर, यसप्रति कसैले चासो देखाएको देखिदैन ।
यद्यपी सिरहाको कल्याणपुर नगरपालिका ४, ५ र ६ ले मदिराको खरिदबिक्री, डिजे साउण्ड र भोजपुरी गीतमा प्रतिबन्ध लगाएको छ । साथै १६ बर्ष मुनीका बालबालिकाले मोबाइल फोन पनि बोक्न नपाउने निर्णय गरेको छ ।
समाजमा बढ्न लागेको विकृति रोक्न वडाध्यक्ष, सर्वसधारण, डिजे संचालक र मदिरा पसलेको संयुक्त बैठकबाट मदिराको खरिद बिक्री, डिजे साउण्ड र भोजपुरी गीतमा प्रतिबन्ध लगाउने निर्णय भएको वडा नम्बर ४ का अध्यक्ष दिलिप यादवले जानकारी दिएका छन ।
निर्णय अगामी फागुन १ बाट लागु हुने र पालना नगर्ने व्यक्ति वा संचालकलाई आर्थिक जरिवाना गर्ने उनले बताएका छन । वडाध्यक्ष यादवका अनुसार डिजे साउण्ड र भोजपुरी गीत बजाउनेलाई दुई हजार रुपैयाँ जरिवाना गरिनेछ भने १६ बर्ष मुनिका बालबालिकाले मोबाइल फोन बोकेको भेटिएमा एक हजार रुपैयाँ जरिवाना तिनुपर्छ ।
मदिराले महिला हिंसा बढाएको र मोबाइल बोक्न थालेकै कारण बालबालिकाको पढाइमा नराम्रो असर पर्न थालेको वडाध्यक्षले बताएका छन । मोबाइलमा बालबालिकाहरु अधिकांश समय सामाजिक सञ्जाल फेसबुकमा बिताउन थालेकाले पढाई बिग्रिन थालेको उनको भनाइ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्