सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रुखका पात झरे पनि जरा फेरिन्न: ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । भारत उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले रुखका पात झरे पनि जरा परिवर्तन नहुने बताएका छन् ।

पारिवारिक भनिएको दुई साता लामो भारत भ्रमणका लागि उड्नुअघि पुर्वराजा शाहले भने–‘हामीले धेरै कुरा प्रकृतिबाट पनि सिक्न सक्छौँ, रुखबाट पात झर्लान, तर जरा भने कहिल्यै परिवर्तन हुँदैनन ।’ उनले हिँड्ने बाटो फरक भए पनि सिद्धान्तमा भने निष्ठावान भएर अडिग रहिरहनुपर्ने जिकिर गरेका छन ।

स्रोतका अनुसार पूर्वराजा शाह संकटमा रहेको भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्ग नामको संगठनले गर्न लागेको कार्यक्रममा सहभागी हुन भारतको उडिसातर्फ लागेका हुन् ।

यसअघि नेपागन्जमा करिब एक महिना बसेर शाहले हिन्दु राज्य र राजतन्त्रको पक्षमा वकालत गर्न भ्याएका थिए । त्यो बेला उनी उत्तर प्रदेशका मुख्यमन्त्रीकहाँ पुगेर यी दुई कुराको लविङमा सक्रिय भएका थिए ।

यो भ्रमणमा पनि पूर्वराजाले नेपालमा हिन्दुत्वको मुद्दाबारे भारतीय नेताहरुसँग कुरा हुन सक्ने जनाउ दिएका छन । पूर्वराजा शाह विमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा बोकेर राजावादी र हिन्दुवादीहरु बिदाईका लागि पुगेका थिए ।

उडिसामा शनिबारदेखि आगामी बुधबारसम्म हुन लागेको गौ संरक्षण महोत्वसमा शाहलाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ । उनलाई पठाइएको निमन्त्रणामा नेपालका राजाकै हैसियत दिइएको छ ।

पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिया पूर्वराजाले भारतमा पनि महोत्सवको अन्तिम दिन महायज्ञमा पूर्णआहुति दिने तालिका छ । रोचक कुरा त के छ भने नेपालबाट राजसिंहासन खोसिएका ज्ञानेन्द्रलाई उडिसामा भारतीय हिन्दुवादीहरुले राजसिंहासनमै राखेर अभिषेक पनि गर्ने भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS