सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेश सभा बैठकमा ‘भालु र पृथ्वीनारायण’को चर्चा

सोमबार सम्पन्न प्रदेश नम्बर ४ को पहिलो ऐतिहासिक बैठक सवा एक घण्टामा सकिने भने पनि सांसदले तोकिएकोभन्दा बढी समय बोलेपछि पौने दुई घण्टासम्म चल्यो । बैठकमा कर्तव्य ज्यान उद्योगमा दोषी ठहर भएका राजीव गुरुङ ‘दीपक मनाङे’ बाहेक सबै सांसदहरु उपस्थित थिए ।

३६ जना प्रत्यक्ष र २४ समानुपातिक गरी ६० जना सांसद सहभागी संसद बैठकमा ७ जनाबाहेक सबै नयाँ अनुहार थिए । संसदको ड्यासमा बोल्न उभिएका ११ जना सांसदमध्ये २ जनाबाहेक सबैको पहिलो अवसर थियो ।

देशमा संघीयताको कार्यान्वयनसँगै भएको प्रदेश सभाको पहिलो बैठकमा बोल्ने सांसदले संघीयताको विरोधदेखि पृथ्वीनारायणको स्तुतिसम्मको भाका हाले । संसदमा बोल्न पाएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले संघीयतालाई ‘हिराको सिक्रीले बाँधिएको भालु’ भनेपछि सभाहलमा रहेका सांसदले मुखामुख गरेका थिए । दर्शकदीर्घामा खासखुस र कल्याङमल्याङ चल्यो ।

संघीयताकै कारण प्रदेश सांसद बनेका थापाले संघीयता अत्यन्तै खर्चिलो र यसबाट जनता असुरक्षित भएको बताएपछि अरु सांसद आश्चर्यमा परेजस्ता देखिन्थे । सांसद थापाले फरार सांसद दीपक मनाङेप्रति लक्षित गर्दै यस्ता व्यक्तिलाई संरक्षण गर्ने पार्टी पनि सच्चिनुपर्ने भन्दै एमालेप्रति प्रदेशसभाबाटै व्यंग्य गर्न समेत भ्याए ।

नेकपा एमालेका सांसद एवं मुख्यमन्त्रीका दुईजना दाबेदारले पृथ्वीनारायणको स्तुति गर्दा एमालेकै केही सांसदले मुख बिगारे । पहिलो वक्ताका रुपमा मञ्चमा उक्लेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्तव्य नै पृथ्नीनारायण शाहले गरेको एकताको प्रसंगबाट सुरुवात गरेका थिए । अर्का सांसद किरण गुरुङले पनि पृथ्वीनारायण शाहको पटक–पटक नाम लिए ।

प्रदेशसभाको पहिलो बैठकमा बोल्ने कांग्रेसका सबै सांसदले लिखित मन्तव्य राखेका थिए । कांग्रेसका तर्फबाट कृष्णचन्द्र नेपालीले लिखित मन्तव्य राखेर समय सकिनुभन्दा अघि नै आफ्नो भनाइ सके ।

कांग्रेसका दोबाटे बिकले पनि मन्तव्यको केही समय बाँकी रहँदै आफ्नो मतव्य टुंग्याए भने ललिलकला गुरुङले पनि आफूले पाएको ५ मिनेट समयमा केही सकेन्ड मात्रै बढी समय लिइन् ।

अन्य सांसद भने सोमबारको बैठकमा कांग्रेसजतिको व्यवस्थित देखिएनन् । कांग्रेसदेखि बाहेक सबै सांसदले तोकिएकोभन्दा धेरै समय बोले । कसरी बैठक बस्ने भन्ने अभ्यास अघिल्लो दिन नै गराइएको भए पनि संसदभित्र मोबाइल बज्नेदेखि सेल्फी खिच्नेसम्मका दृश्य देखिए ।

प्रदेशसभाको पहिलो बैठक हेर्न यस प्रदेशबाट प्रतिनिधिसभाको चुनाव जितेका सांसद पनि पुगेका थिए । सांसद पदम गिरी, केदार सिग्देल, पद्मा अर्याल, प्रेम तुलाचन र रवीन्द्र अधिकारीदेखि देव गुरुङसम्म उपस्थित भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्