सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

डाक्टरको लापरबाहीले यसरी लाग्यो एचआईभी

hiv

जथाभावी यौन सम्पर्क राख्दा एचआइभी सर्छ भन्ने सुनेको भए पनि आफू भने चिकित्सकको लापरबाहीका कारण एचआइभी संक्रमित भएको रोल्पा प्लसका अध्यक्ष राधा विकको बुझाई छ ।

आजभन्दा करिब २९ वर्ष पहिले खुंग्री–५ रोल्पाका दामे विकसँग मागी विवाह गरेकी विकले श्रीमान बाहेक अन्य कसैसँग शारीरिक सम्पर्कमा नरहेको उनको भनाइ छ ।

आफू पतिव्रता हुँदाहुँदै पनि एचआइभी संक्रमित भएर जीवन बिताउनुपर्दा चिन्तित भएकी उनले प्रश्न गरिन–‘श्रीमान् एचआइभी एड्स संक्रमित हुनुभएको छैन, म पनि कुनै परपुरुषको सम्पर्कमा गएकी छैन भने कसरी संक्रमित भएँ तपाईं आफैँ भन्नुस न ।’

उनका अनुसार १५ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी विक दोस्रो पटक सुत्केरी हुँदा २०५७ सालमा धेरै बिरामी परेकी थिइन । चिकित्सकका अनुसार त्यतिबेला विकको शरीरमा रगतको मात्रा एकदमै न्यून रहेकाले थप रगत दिनुपर्ने भयो ।

उनले आफ्नै श्रीमान दामे विकबाट केही रगत लिए पनि अपुग भएपछि अन्य व्यक्तिको रगत पनि प्रयोग भएको थियो । त्यसैबेलामा आफूलाई एचआइभी एड्स सरेको हुन सक्ने उनको आशंका छ ।

सुत्केरी भएका बेला करिब एक महिना निरन्तर रगत बगेपछि उपचारको क्रममा उनलाई नेपालगञ्जको भेरी अञ्चल अस्पताल र काठमाण्डौको टिचिङ अस्पताल लगिएको थियो । ती मध्ये कुन अस्पतालको लापरबाहीले एड्स सरेको हो उनलाई पत्तो छैन ।

आजभन्दा करिब १५÷१६ वर्ष पहिले बिरामी हुँदा यसरी थप रगत लिएकी विक केही समयपछि निको भएकाले अस्पतालबाट निकै खुसी भएर घर फर्किन । त्यसको करिब डेढ वर्ष पछि लगातार पखाला लाग्ने, टाउको दुःख्ने र तारन्तार ज्वरो आउने व्यथाले उनलाई छोडेन । नजिकैको औषधि पसलबाट औषधि किनेर खाएको १०÷१५ दिन ठीक भए पनि ब्यथा बल्झिरह्यो ।

यसरी दुई तीन वर्ष सामान्य उपचारमा दिन बिताए पछि राम्रो उपचारको खोजीमा विक घरपरिवार र जानेबुझेका मान्छेको सल्लाहमा थप उपचारका लागी काठमाण्डौको टेकु अस्पतालमा गएकी थिइन् ।

त्यहाँ विकको दिसा, पिसाबका साथै रगत जाँच पछि आएको रिपोर्टमा एचआइभी संक्रमण देखिएको कुरा चिकित्सकले सुनाए । यसबारे राम्रो ज्ञान नभएकी विकलाई त्यतिबेला खासै प्रभाव पारेन । यसको संक्रमणका बारेमा चिकित्सकले केही जानकारी गराएपछि भने उनको होस हवास उडेको थियो ।

अब श्रीमानलाई यसबारे कसरी भन्ने भन्दै उनी निकै चिन्तित बनिन् । त्यतिबेला उनका श्रीमान दामे विक रोजगारीका लागि पुनः दिल्ली पुगेका थिए । वि.सं. २०५८ को दसैँमा घर आएका बेला श्रीमान दामेसँग आफूले सबै कुरा गरीन तर उनले पनि एचआइभीलाई सामान्य रुपमा लिए ।

एक दुई हप्ता सामान्य उपचार गरे ठीक भइहाल्छ भन्ने उनको बुझाइ बनेको थियो । किनकि यस विषयमा उनका श्रीमानले पनि केही बुझेका रहेनछन । दोस्रो पटक आफूलाई जचाउँन लैजाँदा मात्रै उनले यसबारे राम्रोसंग बुझे ।

एचआईभिबारे बुझेपछि दोधारमा परेका दामे विकले भने–‘तीन तीनवटा बच्चा जन्मिसकेपछि श्रीमती छोड्न पनि मिलेन, सँगै बस्न पनि गाह्रो हुनेभयो भनी निकै चिन्तित बनेको थिएँ । तर मलाई उनको चरित्रमाथि कहिल्यै शङ्का लागेन । म आफूभन्दा बढी उनलाई विश्वास गर्छु ।

यसै विषयमा ‘दाङ प्लस’को तालिममा दुवै जना सहभागी भएका थियौँ । त्यो तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको थियो । हिँजोेआज जस्तो त्यतिबेला एचआइभी एड्स संक्रमणका बारेमा गाउँ सहरमा खासै चर्चा हुँदैनथ्यो । समाजमा धेरै एचआइभी एड्स संक्रमित रहेछन् भन्ने कुरा थाहा भयो र आफ्नो मन बुझाउन थालेँ ।’

केहीदिनपछि सबैको सल्लाहमा काठमाण्डौको टेकुमा पुगी श्रीमान विकको पनि रगत जाँच भयो तर श्रीमान विकमा संक्रमण देखिएन । मान्छे जीवनसँग हारेर मर्छन् । तर मलाई मर्ने रहर कहिल्यै लागेन । श्रीमती विकले भनिन–‘संक्रमित हुनुमा मेरो के दोष ? उनको प्रश्न छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS