दरबारमार्ग घटना सामुहिक बलात्कार नै भएको पुष्टि
प्रहरीकै मिलेमतोमा आपसी लेनदेन र दबाबमा सामुहिक बलत्कारको घटना लुकाउन लागेको समाचार सञ्चारमाध्यममा सार्बजनिक भएपछी गठित प्रहरीको छानबिन समितिले दरबारमार्गको ल्याण्डमार्क होटलमा पीडित युवतीको सामूहिक बलात्कार भएको निष्कर्ष निकालेको छ ।
काठमाडौं प्रहरी परिसरले गठन गरेको एसपी रामदत्त जोशी नेतृत्वको छानबिन समितिले बलात्कारको घटना मिलापत्र गरेर लुकाउन प्रहरीले मुख्य भूमिका खेलेको पनि पुष्टि गरेको छ ।
बिहिबार छानविन समितिले बुझाएको प्रतिवेदनमा युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको उल्लेख गरिएको छ । सामुहिक बलत्कारको घटनामा अहिलेसम्म शैलेश कार्कीसहित विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल संलग्न देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
छानबिन समितिका संयोजक रामदत्त जोशिले भनेका छन–‘यो बलात्कार हो भनेर हामीले मुद्दा चलाउन प्रतिवेदन पठाएका छौं ।’ यहि माघ ७ गते ‘प्रेमी’ शैलेशसँग होटलमा पुगेकी २१ वर्षीया युवती सामूहिक बलात्कारमा परेकी थिइन् ।
उनले भोलिपल्ट विहान दरबारमार्ग वृत्तमा पुगेर सामूहिक बलात्कारको मौखिक उजुरी दिएकी थिइन् । तर, दरबारमार्ग प्रहरीकै संलग्नतामा आर्थिक लेनदेनमा मिलापत्र गरिएको थियो, जसमा आफूहरुबीच सहमतिमै शारीरिक सम्बन्ध भएको र होटलमा छाडेर गएको रिसमा मात्र सामूहिक बलात्कार भएको भन्दै उजुरी गरेको उल्लेख गरिएको छ ।
सुरुमा प्रहरीसँग सम्पर्कबिहीन भएकी पीडित युवती केही दिनमा सम्पर्कमा त आइन् तर, सहमतिपत्रमा उल्लेख भए जस्तै आफू बलात्कार नभएको बयान दिएकी थिइन् । पिडित भनिएकी युवतीले नै बयान फेरेपछी सामूहिक बलात्कार भए नभएको भन्नेबारे प्रश्न उठेको थियो ।
अन्तत; प्रहरीको छानबिनले पीडित युवती समूहिक बलात्कारको शिकार भएको देखाएको छ । छानबिनका क्रममा पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएर मिलापत्र गरेको देखिएको छ । पीडित युवतीको आमाको खातामा २७ लाख देखिएको छ ।
छानविन समितिले बलात्कारको घटनामा मिलापत्र गराउन दरबारमार्ग प्रहरी बृत्तले भूमिका खेलेको ठहर गरेको छ । आर्थिक प्रलोभनमा परेको केकति लिएको खुलेको छैन । आर्थिक लेनदेन पुष्टि भए दोषी प्रहरीमाथी फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको छ ।
छानविन टोलीले प्रहरी नायव उपरीक्षक तिलक भारतीलाई दरबारमार्ग वृत्त प्रमुखबाट हटाएको छ भने प्रहरी निरीक्षक लक्षण सिंह ठकुरी र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी हैदसम्मको कारबाही गर्न सिफारिस गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्