सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुख्यमन्त्रीका रुपमा राईको आगमन, आचार्य पराजीत

प्रदेश नं. १ को संसदीय दलको नेतामा चयन भएपछी युवा नेता शेरधन राईको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्रीमा सहमती नजुटेपछी शुक्रबार संसदीय दलको नेता चयनका लागी भएको निर्वाचनमा निर्वाचित भएपछी राईलाई प्रदेश सभाको मुख्यमन्त्री बन्ने सहज बाटो बनेको हो ।

मुख्यमन्त्रीका आकांक्षीहरु धेरै भएपछि नेकपा एमालेले संसदीय दलको नेता चुन्न शुक्रबार आन्तरिक चुनाव गराएको थियो । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे भने चुनावी प्रतिस्पर्धामा सहभागी भएनन् ।

चुनावमा पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले पराजित गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका हुन् । प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने पराजीत जीवन आचार्यले २४ मत पाएका छन । एक मत बदर भएको छ ।

एमालेभित्रको गुटगत राजनितीमा प्रदेश नं. १ मा माधव कुमार नेपाल समूहको स्पष्ट बहुमत थियो । प्रदेस सभाका ५१ सदस्य मध्ये नेपाल पक्षका २९ र संस्थापन पक्षको २० भोट थियो भने दुई सांसद कुनै पनि गुटमा खुलेका थिएनन् ।

तर, दलको नेताको उम्मेद्वार बनेका आचार्यसंग आफ्नै गुटका नेता कार्यकर्ता असन्तुष्ट थिए । उनीमाथि स्थानीय चुनावका क्रममा टिकट बेचेको तथा पार्टीका उम्मेद्वारलाई हराउन भूमिका खेलेकोसम्म आरोप लागेको छ ।

त्यसैले माधव नेपाल समूहका जीवन घिमिरेले दलको नेता दाबी गरेका थिए । तर, सचिव योगेश भट्टराईसहितका नेताहरुले उनलाई उम्मेदवार बन्नबाट रोकेका थिए । तर, माधव नेपाल पक्षका असन्तुष्ट सांसदहरूले आचार्यलाई मत नदिएको देखिएको र त्यही कारण अल्पमतमा रहेर पनि संस्थापन पक्षले दलको नेताको चुनाव जितेको नेपाल समूहका एक नेताले बताएका छन ।

दलको नेतामा निर्वाचित भएपछी शेरधन राईले अब छिट्टै प्रदेश सरकार गठन हुने बताएका छन् । उनले भनेका छन–‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ । ढिलोमा फागुन २ भित्र बन्छ ।’

प्रदेश नं. १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेको बहुमत (५१ सांसद) छ र, वाम गठबन्धनको भागवण्डाका क्रममा पनि प्रदेश नं. १ को मुख्यमन्त्री र सभामुख एमालेकै भागमा परेको छ । प्रदेश नं. १ मा १६ जना सांसद भएको माओवादीले उपसभामुख लिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्