सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बिहेको अघिल्लो रात कहाँ गए बेहुला ? दुबैतीर पिडा

नवलपरासीमा विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएको ५ दिनपछि स्थानीयले बेहुला खोजी गरिदिन माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । माघ २२ गते विवाह गर्ने निधो भएका गैंडाकोट वडा नम्बर १४ निवासी बेहुला बालकृष्ण खरेल माघ २१ गते राति १ बजेबाट बेपत्ता भएका हुन् ।

घर नजिकैकी युवतीसँग विवाह गर्ने टुंगो लगाएर सबै तयारी गरेका बालकृष्ण आइतबार राति १ बजे घरबाट एकाएक बेपत्ता भएपछि उनी अहिलेसम्म बेखबर रहेका छन् । दुलाहा र दुलहीपक्षका घरमा विवाहको सबै तयारी पुरा भइसकेको थियो ।

बेहुलाका दाजु गणेश खरेलले भने–‘विवाहको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं । १२ बजेपछि हामी सुत्न गयौं बिहान हेर्दा भाई कोठामा थिएन । कतै निस्केका होलान, आइहाल्छन् भनेर सबै तयारी ग¥यौं । जन्तीहरु आउने क्रम सुरु भयो तर भाइ आएनन ।’

त्यसपछि सबै आत्तिएर खोज्न थालेको अहिलेसम्म पनि भाई बेखबर रहेको उनका दाजुले बताएका छन । ९ वर्ष अघिदेखि स्पेनमा बस्दै आएका २९ वर्षीय बालकृष्ण गत मंसिरमा घर आएका थिए । उनकै राजीखुशी अनुसार विवाहको टुंगो लगाइएको थियो ।

एकाएक बेहुला बेपत्ता भएपछि दुवै तर्फका परिवारजनहरु खोजिमा सक्रिय छन । बेहुला हराएदेखि नै उनको टेलिफोन बन्द भएपनि फेसबुक चलेको देखिन्छ । परिवारजनले बेहुला बेपत्ता भएर विवाहको दिन नआएपछि उनीहरुले खोजी गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन ।

प्रहरीले माघ २१ गते राति ११ः३७ देखि ११ः५७ सम्म लगातार बेहुलीको मोबाइलमा फोन गरेको देखिएको बताएको छ । त्यसबाहेक उनको नम्बर अफ गरिएको छ । फेसबुक सक्रिय देखिएपछि परिवारले विभिन्न प्रश्न सोध्दा उत्तर आउँदैन्थ्यो ।

एकैपटक बिहीबार राति (माघ २५ गते) ११ बजेर ३९ मिनेट जाँदा उनको फेसबुकमा भोलि बालकृष्णको अन्तिम दिन हो (tomorrow is last date for Blk) भन्ने स्टाटस अपडेट भएपछि परिवारजनहरु थप आतंकित र त्रसित छन् ।

त्यसको अघिल्लो दिन ११ः३९ बजे उनको म्यासेन्जरमा फोन गर्दा हिन्दीमा बोलेर ‘बालकृष्ण नही है’ भन्ने आवाज आएको र त्यसपछि फोन राखेको परिवारजनको भनाई छ । उनको फेसबुक सक्रिय रहेको र म्यासेन्जरमा कुरा गर्दा उठाउनेले हिन्दीमा बोलेको र स्टाटसपनि त्यस्तो राखिएपछि उनलाई अपहरण गरेको आशंका परिवारले गरेको छ ।

उनीसँगै स्पेनमा रहेका साथीहरुले त्यहाँ उनको कोही कसैसँग कुनै दुस्मनी वा झै–झगडा भएको जानकारी नै नरहेको बताउँछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनको खोजी भइरहेको र टेलिफोन कल डिटेल्सका लागि काम भइरहेको जानकारी दिएको छ । उसले प्रहरी प्रधान कार्यालय, प्रदेश मुख्यालय र सबै जिल्लामा खबर गरिसकेको जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्