सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युवतीको चक्करमा आफ्नै साथीको घाँटी रेटी हत्या

व्यापार र केटीसँगको सम्बन्धको निहुँमा आफ्नै साथीको हत्या गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारत विहारका २५ वर्षीय सन्तोष गुप्ता र २४ वर्षीय राहुल पटेललाई आफ्नै साथीको हत्या अभियोगमा पक्राउ गरेको हो ।

उनीहरुले गत फागुन ३ गते भारतको विहार रक्सौल बस्ने २२ वर्षीय मनिष कुमारको घाँटी रेटी हत्या गरेका थिए । गत फागुन ४ गते बिहान बाराको परवानिपुर गाउँपालिका वडा नं. ५ बहुवरी टोल स्थित पुर्वी–पश्चिम गण्डक नहरको सडक किनारमा वेवारिसे शव फेला परेको थियो ।

अनुसन्धान गर्दै जाँदा उक्त शव भारत विहार रक्सौल न.पा.वडा नं.१० काली मन्दिर रोड बस्ने प्रमोद कुमारका छोरा मनिषको भएको परिवारले सनाखत गरेको थियो । प्रहरीले यसबारे अनुसन्धान गर्दा मनिषलाई सन्तोष गुप्ता र राहुल पटेल समेतको योजना र संलग्नतामा घाटी रेटी मारी फालेको खुलेको थियो ।

उनीहरुलाई नेपाल भारत र पर्सा जिल्लाको सिमावर्ति एरियामा पक्राउ गरिएको थियो । प्रहरीका अनुसार मृतक मनिष कुमारको विहे फागुन ११ गते भारतको घोडासहन भन्ने ठाउँमा हुने तय भएको थियो ।

गत फागुन ३ गते विहान मनिषको घरमा गई प्रतिवादी राहुल पटेल र सन्तोष गुप्ताले करिब ३ घण्टा सम्म कुराकानी गरी बिरगंज जानको लागी दवाव दिएका थिए । विहेको कार्ड बाँड्न जाउँ भन्दै दुई जनाले मनिषलार्ई फकाई बिरगञ्ज ल्याई चंडाल चोकमा अत्याधिक मात्रामा मादक पदार्थ सेवन गराएका थिए ।

त्यसपछि दुई जनासहित अन्य फरार प्रतिवादीहरुको सहयोगमा राती अन्दाजी ९ बजेको समयमा बारा जिल्लाको परवानीपुर गा.पा.५ बहुअरी टोल स्थित पुर्व–पश्चिम नहरमा धारिलो हतियारले घाटी रेटी मारेका थिए । घटनामामा ना २ ह ११० नं.को ई.रिक्सा प्रयोग गरेको पाइएको छ ।

प्रहरीका अनुसार मृतक र पक्राउ प्रतिवादी बीचमा व्यवसाय तथा केटीका सम्बन्धमा व्यक्तिगत रिसईवी रहेको थियो । जसको कारण उनीहरुले हत्या गरेका हुन् । केटीको बिषयलाई लिएर कस्तो खालको बिबाद थियो भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्