सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुई दशकपछी गायक उदीतनारायण जन्मथलो सप्तरीमा

नेपाली मुलका चर्चित भारतीय गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । झण्डै दुई दशकपछि आफ्नो जन्मथलो सप्तरी आएका झा एक सातासम्म बस्ने कार्यक्रम रहेको छ ।

केही समयअघि आफू भारतीय भएको भनेर प्रतिक्रिया दिएर विवादमा फसेका गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घरमा आएका हुन् ।

मिडियासँग केही कुरा गर्न नचाहेका झा जेठी पत्नी रञ्जनासँग मेलमिलाप भएपछि घर परिवारसँग भेटघाट गर्न आएको बताइएको छ । उनी गायन पेशामा लागेर लामो समयदेखि भारतमा बसोबास गर्दै आए पनि उनका दाजुभाइ भारदहमै बस्दै आएका छन् ।

बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदीत र रञ्जनाको सम्बन्धका कारण भारतमा हंगामा समेत भएको थियो । तर अहिले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकारहरुसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बसेर सबै साथीभाईसँग भेटघाट गर्ने बताएका छन । उनले भारदहमा नयाँ घर बनाउने बताउदै जन्मथलोमा धेरैपछि आएकोले खुशी लागेको बताएका छन ।

भारदहमा आएर आफ्नो परिवारसँग भेटघाट गरेपछि केही वर्षअघि उनले आफू भारतीय भएको भनी मिडियालाई भनेको कुरा आफैं झुटो सावित पनि भएको छ । यद्यपि उनी यसबारेमा भने धेरै कुरा गर्न तयार भएनन् ।

गायक उदीतनारायण झा आफ्नो जन्मथलो आउनेबित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका छन् । उनी पूजा गर्न मन्दिर पुग्दा स्थानीयहरुको भीड लागेको थियो । पालैपालो उनीसँग सेल्फी लिने पनि अत्यधिक देखिएका थिए । गायक झा आएको थाहा पाउनेबित्तिकै उनीसँग भेट्न जानेहरुको घुइँचो लागेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्