सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बैंकको साढे ९ करोड घोटाला काण्डका २ पक्राउमा

राष्ट्रिय वाणिज्य बैंक, बिराटनगर शाखामा भएको घोटला काण्डमा संलग्न दुई जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । बुधबार मोरङ प्रहरीले विराटनगर रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहा काउण्टर इञ्चार्ज वरिष्ठ सहायक तोर्णराज राउत र बैंकका शाखा प्रबन्धक बिष्णुप्रसाद निरौलालाई सार्वजनिक गरेको हो ।

राउतको वयानका आधारमा शाखा प्रबन्धक निरौलालाई मंगलबार साँझ कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु दुवैलाई मोरङ प्रहरीले उच्च अदालतमा बैङ्किङ कसुर र सजाय ऐन अन्र्तगत मुद्दा चलाएको छ । प्रहरीले ६० दिन म्याद रहने भएकाले उनीहरुका बारेमा अहिले अनुसन्धान गरिरहेको जनाएको छ ।

सोही घटनामा संलग्न भएका भन्सार एजेन्ट ललित बोहरा र प्रतिनिधि सुरेश बोहरा हालसम्म फरार रहेको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिएका छन । उनीहरुको खोजी भइरहेको छ । स्रोतका अनुसार उनीहरु भारतमा लुकेर बसेको पाइएको छ ।

भारतबाट आयात गरिएको बस्तुको भन्सार शुल्क दाखिला गर्ने क्रममा पेयी चेकमार्फत राष्ट्रिय वाणिज्य बैंकको ९ करोड ६१ लाख रहेको रकम घोटला भएको थियो । भन्सारको राजश्व खातामा जम्मा देखिएको ९ करोड ६१ लाख ५५ हजार रकम बैंकमा भने जम्मा छैन ।

रानी भन्सारमा सामान क्लीयरिङ्ग गर्दा भन्सार एजेन्ट ललित बोहरा र प्रतिनिधि सुरेश बोहराको सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिसमार्फत बैंकको भन्सार शाखाको सुख्खा बन्दरगाहामा बुझाइएका ती चेकहरु वाउन्स फेला परेका थिए । र, बैंकमा घोटाला भएको सार्वजनिक भएको थियो ।

प्रहरीले बैंक घोटला काण्डको अनुसन्धान गर्नका लागि गएको ९ पुसदेखि १९ माघसम्मको भन्सार एजेण्ट सुरेशमार्फत कारोबार भएको सम्पूर्ण विवरण पनि भन्सारसँग माग गरेको छ ।

जुन अवधिमा विभिन्न ४९ वटा औद्योगिक फर्महरुको बस्तु आयातको भन्सार शुल्कको कारोबार भएकोमा भन्सार एजेण्ट सुरेशमार्फत ४६ वटा फर्मले कारोबार गरेका थिए । उक्त अवधिमा १८ करोड ४० लाख ४४ हजार ७ सय ६५ रुपैयाँको कारोबार भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्