सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रेमीसंग मिलेर प्रियंकाले दिईन श्रीमान मार्न सुपारी

छोराछोरी र श्रीमतीको सुखका लागी श्रीमान पैसा कमाउँछन । श्रीमान विदेश गएपछि यता श्रीमती परपुरुषको प्रेममा पर्छिन् । जब श्रीमान विदेशबाट फर्किन्छन, श्रीमती र उनको प्रेमी मिलेर हत्या गर्ने योजना बनाउँछन् । तर, भाग्यले श्रीमान बाँच्छन र श्रीमतीको कर्तुत सार्वजनिक हुन्छ ।

यस्तै कथा कलिउड र बलिउडका थुप्रै मसेलदार फिल्महरुमा पाईन्छ । तर, वीरगञ्जमा यही फिल्मी शैलीको घटना सार्वजनिक भएको छ । झण्डै १० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका उमेश चौरासियामाथि बुधबार राति गोली प्रहार भयो ।

वीरगञ्ज महानगरपालिका १३ का चौरासिया धागोको ब्यापारी हुन् र उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । सुरुमा चौरासियामाथि अपराधिक समूहले गोली हानेको हुनसक्ने आशंका थियो । तर, २४ घण्टा वित्न नपाउँदै प्रहरीले जे पत्ता लगायो, त्यो कुनै फिल्मको दृश्य भन्दा कम छैन ।

बुधबार राति करिव ९ः३० बजेतिर जिल्ला प्रहरी कार्यालय पर्साको अगाडी चौरासियामाथि गोली प्रहार भएको थियो । पर्सा प्रहरीले बिहीबार घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा प्रियंका चौरासिया, बारा परवानीपुर गाउँपालिका–१ का २४ बर्षीय विकेन्द्रकुमार गुप्ता, २७ बर्षीय मनोज गुप्ता, वीरगञ्ज १२ मुर्लीका २५ बर्षीय मुन्ना साह कानु छन् । पक्राउ परेकी प्रियंका घाइते उमेशकी पत्नी हुन् ।

प्रियंका काठमाडौंबाटै पक्राउ परेकी हुन् भने अरुलाई वीरगञ्ज–४ विर्ताबाट पक्राउ गरेको थियो । घटनामा बरामद गरिएको मोटरसाइकल वीरगञ्ज ११ श्रीपुरबाट र पेस्तोल वीरगञ्ज १२ मुर्लीबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटना वैदेशिक रोजगारीले निम्त्याएको घटना भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उमेश झण्डै १० वर्षदेखि रोजगारीको शिलशिलामा दुबईमा बसेका थिए । विवाह गरेको झण्डै तीन वर्षपछि नै उनी श्रीमतिलाई घर छोडेर दुबई पुगेका थिए ।

अनमी समेत रहेकी उमेशकी श्रीमती प्रियंका र अपोलो ट्रमा सेन्टर वीरगञ्जमा कार्यरत सीएमए विकेन्द्रकुमार गुप्ता नजिकिए । जब प्रियंकाका श्रीमान उमेश घर फर्किए, प्रियंकाले प्रेमी विकेन्द्रसँग मिलेर श्रीमानको हत्या गर्ने योजना बनाएको पाइएको छ ।

प्रहरीकाअनुसार प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्ने जिम्मा मनोजलाई दिए । मनोजले उमेशको हत्या गर्ने सुपारीसँगै २५ हजार एडभान्स लिएका रहेछन् । त्यही रकमबाट पहिचान नखुलेका व्यक्तिबाट उनले ११ हजारमा १२ बोरको बन्दुकको गोली फिट हुने १ राउण्ड गोली सहितको कटुवा पेस्तोल खरिद गरे ।

हत्यापछि मनोजलाई ७५ हजार दिने सहमति गरेको पाइएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताएका छन । मनोजलाई विकेन्द्रले नै ना ३४ प १०३ नम्बरको प्यासन प्रो मोटरसाइकल उपलब्ध गराएका थिए । कामको शिलशिलामा बुटवलबाट फर्कदै गरेका उमेशलाई पिछा गर्दै मनोजले घर पुग्नु अघि नै गोली हाने । उनी रानीघाटको बाटो हुँदै भागेका थिए ।

पर्सा प्रहरीका अनुसार प्रियंकाले नै उमेशको लोकेसन फोनमार्फत मनोजलाई जानकारी गराएकी थिइन् । ‘प्रेम सम्बन्धलाई सफल बनाउन हत्याको योजना बनाएको देखिन्छ’, पर्सा प्रहरी प्रमुख एसपी गणेश रेग्मीले भने, ‘सबै आरोपीहरुले आरोप स्वीकार गरिसकेका छन् ।’

घटनामा प्रयोग भएको पेस्तोल प्लाष्टिकको बोराभित्र राखी बालुवामा गाडेको अवस्थामा बरामद भएको छ । सीसीटीभी फुटेजले गर्दा अपराधीहरु पत्ता लगाउन सहज भएको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS