सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पैसा कमाउन हिँडेका नेपाली टर्कीमा अपहरणमा

टर्कीको इस्तानबुलबाट अपहरणमा परेका तीन नेपाली १८ लाख ६५ हजार रुपैयाँ फिरौती बुझाएर स्वदेश फर्केको एक सातामै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सप्तरीका ओमप्रकाश पञ्जियारलाई पक्राउ गर्यो । उनलाई ८ फागुनमा पक्राउ गरिएको थियो ।

टर्कीमा भएको अपहरण घटनामा नेपाल बस्ने पञ्जियारको संलग्नता कसरी हुन पुग्यो ? यही प्रश्नको उत्तरमा लुकेको छ, वैदेशिक रोजगारीको आकर्षक जालमा पारी मानव बेचबिखन र अपहरण गर्ने पछिल्लो प्रवृत्तिको कथा ।

भनेजस्तो जागिर र खोजेजस्तो तलब मिलाइदिने भन्दै गत जेठमा पञ्जियारले खोटाङको रूपाकोट नगरपालिका ४ का टीकाराम विश्वकर्मा र मोरङ केराबारीका किरण मगरसँग जनही ६ लाख ५० हजार रुपैयाँ लिएका थिए । त्यसलगत्तै उनले दुवैलाई भारतको नयाँदिल्ली पुर्याएर तीन महिनासम्म झुलाएर राखे ।

मकाउमा भिसा लाग्न नसकेको भन्दै पञ्जियारले दुवैलाई टर्की पुर्याइदिने र भनेजस्तो जागिर मिलाइदिने आश्वासन दिए । तर टर्की पुगेपछि उनीहरूले न भनेजस्तो जागिर पाए, न त्यहाँबाट सजिलै युरोप छिर्न नै ।

त्यसपछि आफूहरूलाई नेपाल फर्काइदिन पञ्जियारलाई अनुरोध गरिरहेकै बेला विश्वकर्मा, मगर र त्यहीँ भेट भएका ताप्लेजुङका टीका लिम्बू गत माघ २१ मा अपहरणमा परे । तीनै जनालाई पाकिस्तानी नागरिक निर्जा कासिफले अपहरण गरेका थिए ।

अपहरणकारीले भनेजति पैसा नबुझाए ज्यानै लिने धम्की दिएपछि तीनै जनाले आफ्ना परिवार र आफन्तजनसँग हारगुहार गरे र १८ हजार अमेरिकी डलर फिरौती बुझाएर मुक्त भए । आफन्तले कतारको वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत पाकिस्तानमा फिरौती रकम पठाएको पीडित युवकहरूले बताएका छन् ।

मुक्त भएलगत्तै नेपाल फर्केका तीनमध्ये दुईले पञ्जियारविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेपछि उनी पक्राउ परेका हुन् । ब्युरोले काठमाडौं जिल्ला अदालतमा पञ्जियारविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

आकर्षक वैदेशिक रोजगारीको लोभ देखाएर भारत पुर्याउने र त्यहाँबाट गन्तव्य बदलेर टर्की पुर्याई पाकिस्तानी र बंगलादेशी नागरिकसँगको मिलेमतोमा नेपालीको अपहरण गरेर फिरौती असुल्ने धन्दा पछिल्ला महिनामा प्रवृत्तिकै रूपमा देखिएको छ ।

न भनेजस्तो काम, न खोजेजस्तो तलब भएर अप्ठ्यारोमा परेका नेपालीकै अपहरणमा नेपालबाट विदेश पठाउने एजेन्ट, भारतीय सब एजेन्ट र पाकिस्तानी नागरिकको समेत मिलेमतो देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

पञ्जियार यस्तै घटनाका प्रतिनिधि पात्र मात्रै हुन् । गत वैशाखमा रुकुमका झलक नकाल यसैगरी टर्कीमा अपहरणमा परेका थिए । बंगलादेशी अपहरणकारीको फन्दामा परेका नकाल भने ९ हजार डलर बंगलादेश पठाएपछि मात्रै मुक्त भएका थिए । स्रोतका अनुसार उजुरीपछि ब्युरोले बंगलादेशको पुबाली बैंकमा रहेको खाता रोक्का गराएको छ ।

वैशाखयताको १० महिनामा मात्रै महानगरीय अपराध महाशाखामा टर्की पुगेर अलपत्र परेका आठ विभिन्न उजुरी दर्ता भएका छन् । यसरी उजुरी दर्ता गर्नेमध्येका धेरैजसो दलालबाट आर्थिक शोषणमा परेका त छन् नै, टर्कीमा अपहरणमा परेर फिरौती रकमसमेत बुझाउनुपर्दा थप मर्कामा परेका छन् ।

महाशाखाका एसएसपी नरेन्द्र उप्रेतीका अनुसार अधिकांश नेपालीले टर्कीसम्म पुग्न दलाललाई ६ लाखदेखि १० लाखसम्म बुझाएको देखिन्छ । प्रहरीमा परेका उजुरीका आधारमा अपहरणमुक्त हुन नेपालीले ८ हजारदेखि १० हजार डलरसम्म फिरौती रकम बुझाएको देखिन्छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा असार यताको आठ महिनामा मात्रै टर्कीमा अपहरणमा परी फर्केका तीन फरक–फरक घटनाको उजुरी दर्ता भएको देखिन्छ । ब्युरोका अनुसार तीन उजुरीमा २४ नेपाली पीडित बनेका छन् भने उनीहरूले दस जनाविरुद्ध उजुरी दर्ता गरेका छन् । ब्युरोले दसमध्ये ६ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी जारी छ ।

ब्युरोका अनुसन्धान अधिकारी राजकुमार सिलवालका अनुसार सजिलै युरोप छिर्न पाइने लोभमा अनेकन दलाललाई भनेजति पैसा बुझाएर टर्की पुगेकाहरू फन्दामा परेका देखिन्छन् । सिलवालले टर्की पुगेकाहरू चर्को श्रम शोषणमा परेको र तीमध्ये कैयन् भने नेपालीले नै दिने सूचनाका आधारमा अपहरणमा परेको देखिन्छ ।

टर्कीमा अलपत्र परेर फर्केका वा त्यहाँ अपहरणकारीलाई फिरौती रकम बुझाएर नेपाल फर्केपछि प्रहरीकहाँ पुगेका पीडितको उजुरीलाई केलाउँदा करिब ५० करोडभन्दा धेरै रकम पीडितहरूले गुमाइसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS