सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साढे ३२ केजी सुन काण्डमा भरिया सनमको हत्या

मोरङ, उर्लावारी ७ का ३३ वर्षीय सनम शाक्य मंगलबार अपहरणमा परेका थिए । उनलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा अपराध महाशाखा र स्थानीय प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्या मार्गमा चेकजाँच गरेको थियो ।

त्यही क्रममा बा १२ च ५९६३ नम्बरको स्करपियो गाडीमा शाक्यको शव भेटियो । शव डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरेर राखेको अवस्थामा भेटिएको हो । मृतकको शरीरमा निलडाम भेटिएको छ ।

तस्करीको सुन हराएपछी सनमलाई सिराहाबाट अपहरण गरी कुटपिट गरेर हत्या गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ परेको छ ।

शाक्यले केही साता अघि तस्करीको साढे ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका रहेछन् । त्यसका लागि उनले निश्चित रकम पाउने भनिएको थियो । तर, सुन सम्बन्धित व्यक्तिसम्म पुगेन । सुन हराएपछि मालिकहरुबीच हल्लिखल्ली मच्चियो ।

एकाएक सुन गायब भएपछि उनीहरुको पहिलो निशानामा परे सनम । जसले तस्करीको सुन गलत व्यक्तिको हातमा थमाए । सुरुमा उनले त्यस बारेमा अनविज्ञता प्रकट गरे । उनले आफूले भनेकै ठाउँमा सुन पुर्याएको दाबी गरे । यद्यपि, सम्बन्धित व्यक्तिको हातमा त्यो पुगेको थिएन ।

सुन मालिकले भरियाको सुराकी गर्न र जानकारी फुत्काउन काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीकै ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्लेलाई खटाए । यद्यपि, उनीहरुले उपलब्धीमूलक सूचना ल्याउन सकेनन् । अन्ततः १५ फागुनमा सनम उनीहरुको अपहरणमा परे ।

उनलाई सिराहाको दक्षिण भेगको एक गोप्य स्थानमा लगे र यातना दिन थाले । तीन दिनसम्म निर्घात कुटपिट गरे तर सुनबारे केही बताएनन् । चौथो दिन उनलाई तर्साउन करेन्ट समेत लगाइयो । तर, अपशोच ! करेन्टका कारण सनमको ज्यान गुम्यो ।

हत्यापछी शवलाई लुकाउने ठाउँ नभेटेपछि
शुक्रबार अपरान्ह नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखालाई व्यक्तिको अपहरणपछि हत्या भएको सुराकी मिल्यो । हत्या गर्नेहरु भाग्न लागेको सूचना थियो । लगत्तै, महाशाखाका डिएसपी प्रजित केसी नेतृत्वको प्रहरी टोलीलाई परिचालन भयो । साँझ ४ बजे केसी नेतृत्वको टोली पूर्वतर्फ हुइँकियो ।

सनमको हत्यापछि शवलाई लुकाउन पूर्वतर्फ लैैजाँदै गरेको प्रहरीले पत्तो लगायो । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनीका अनुसार राति करिब १२ बजेतिर अप्रेशन टोली इटहरी पुग्यो । त्यहाँ पुगेपछि बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीलाई शंकास्पद रुपमा केसी नेतृत्वको टोलीले नोटिश गर्यो र पछ्याउन थाल्यो ।

‘हामीले पछ्याउँदै गरेको उसलाई शंका लागेको हुन सक्छ’, अप्रेशनमा संलग्न टोलीका एक सदस्यले भने, ‘कहिले गाडी डेड लेनतिर हुइँकिरहेको थियो । कहिले नहरतिर लगिरहेको थियो । गाडी कुदाइ एकदमै अनयूजल थियो ।’

ती अधिकारीका अुनसार गाडी चालक काभ्रेका ३२ वर्षीय टेकराज मल्ल (पक्राउ गरेपछि नाम, थर खुलेका) ले गाडीलाई कहिले इटहरीतर्फ कहिले धरानतर्फ गरेर गाडी घुमाइरहेका थिए ।

‘त्यसैले त्यतिवेला उसको निश्चित गन्तव्य नभएको अनुमान लगाउन सकिन्छ’, ती अधिकारीले भने, ‘ऊ शवलाई ठेगान लगाउने ठाउँको खोजीमै थियो ।’ प्रहरीले घटनामा संलग्न अन्यलाई पनि पक्राउ गर्ने योजनामा उनलाई त्यसवेलै पक्राउ गरेको थिएन ।

घटनामा संलग्न थप दुई जनाको बारेमा सुराकी पायो । र, शनिबार दिउँसो बिराटनगरको पोखरियाको दुर्गा चोक नजिक पुगेपछि प्रहरीले स्कोर्पियोलाई छेक्यो । गाडीको खानतलासी गर्दा डिक्कीभित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरेर लुकाएको अवस्थामा सनमको शव फेला प¥यो ।

गाडीका चालक टेकराजलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । लगत्तै, प्रहरीले इटहरीमा रहेका उर्लाबारीका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन पनि पक्राउ परे । जो सनमको हत्या गर्ने कार्यमा संलग्न थिए ।

अहिले प्रहरीले थप अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानले घटनामा थप ४÷५ जना व्यक्ति संलग्न भएको देखाएको अनुसन्धानमा खटिएका एक अधिकारीले बताएका छन । उनीहरु फरार छन् । जो साढे ३२ केजी सुनका मालिक समेत हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्