सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

धन्न म एक पटक मात्रै जन्मिएको रहेछु; केपी ओली

प्रधानन्यायाधीश गोपाल पराजुली र आन्दोलनरत डा. गोविन्द के.सी.को जन्ममिति बिबाद छरपस्ट भईरहेका बेला यो बिबाद संसदमा पनि छिरेको छ । उमेरले ६३ बर्ष भए पनि नागरीकता अनुसारको उमेरले ८० पुगेका सांसद महिन्द्रनारायण यादवले ज्येष्ठ सदस्यका हैसियतले आज आईतबार सांसदहरुलाई सपथ गराउने भएपछी जन्ममिति काण्ड संसद भवन पनि प्रवेश गरेको हो ।

जन्ममिति बिबादकै बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताउँदै आफू भने एक पटक मात्र जन्मिएकाले बचेको टिप्पणी गरेका छन ।

शनिबार एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालत, सडकदेखि संसदसम्म जन्ममितिको लफडा रहेको बताएका थिए । ‘न्यायाधीशको जन्ममिति, डाक्टरको जन्ममिति, सांसदको जन्ममिति’ उनले अगाडी भने, ‘धन्न म एक दिन मात्र जन्मिएको थिएँ, बचिएछ ।’

‘एक पल्ट जम्मा एक दिन २००८ साल फागुन ११ गते शनिबार तदनुसार फरबरी २३ तारिख सन् १९५२ ।’ जेष्ठ सांसदको जन्ममिति विवादतर्फ संकेत गर्दै उनले भने, अब हेर्दा हेर्दै भाइले सपथ ग्रहण गराउने भए । कहाँ छ नेपाल ? यसले एउटा झलक देखाउँछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले क्षेत्राधिकार नाघेको समेत बताएका छन् । एमाले र माओवादी सांसदहरूलाई प्रशिक्षण दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका तीन सांसदलाई सपथ नगराउन सर्वोच्चले दिएको अन्तरकालीन अन्तरिम आदेशले कार्यकारीको क्षेत्राधिकारमा हस्तक्षेप भएको बताएका हुन् ।

‘यो अदालतको क्षेत्राधिकारको विषय होइन, कार्यकारीको क्षेत्राधिकार भित्रको विषय हो’, ओलीले भने, ‘भोलि पेशी तोकिएको भन्ने सुनेको छु । यस विषयमा अनावश्यक उल्झनमा नरहँदा र चासो व्यक्त नगर्दा हुन्छ ।’

ओलीले वाम गठबन्धनले ल्याएको दुई तिहाई गाई कि त्रिशुल खेलेर नआएको टिप्पणी गरेका छन । ‘गाई कि त्रिशुल खेल्दा त्रिशुल परेर यो दुई तिहाई आएको होइन’, ओलीले भने, ‘धेरैको रगत पसिना बग्यो । कतिले जेल नेल र युद्ध भोगे । कसैको छातीमा गोली लाग्यो, कसैको छेवबाट गयो । यो अनेकौँ संघर्षको परिणाम हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS