सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

युवतीले फुलवारीमा भेट्न बोलाएकी कुमारको हत्या

आफुसँग परिचित युवतीले काठमाडौंको बालाजु स्थित ‘फुलबारीमा भेटौं’ भनेपछि उनलाई भेट्न पुगेका कक्षा १० मा अध्ययनरत कुमार सुचिकारको हत्या भएको छ । सुचिकारको हत्यामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजु प्रहरीले हत्यामा संलग्न भन्दै कुमारका ८ जना सहपाठीलाई सार्वजनिक गरेपनि युवतीको नाम–ठेगाना गुपचुप राखेको छ । पक्राउ पर्नेहरुमा तार्केश्वर नगरपालिका ४ का १७ वर्षिय समिर मर्हजन, सोही ठाँउका सुजन महर्जन, आईसिगं तामाङ, विशाल पुतुवार, दिनेश नगरकोटी, निर्मल महर्जन, पेमा गेल्जे शेर्पा र राजन मगर रहेका छन् ।

‘युवती सहित ९ जना पक्राउ परेका छन, आठ जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेका छौं’ महानगरीय प्रहरी वृत बालाजुका प्रमुख (डिएसपी) विश्वराज खड्काले भने, ‘युवतीलाई किन बोलाएको भनेर सोधपुछ गर्दै छौं, अहिले उनको नाम सार्वजनिक नगरौं ।’

गएको माघ २७ गते बालाजुस्थित फुलबारीमा अचेत अवस्थामा फेला परेका नुवाकोट सुर्यगढी गाउँपालिका–३ का कुमार सुचिकारको उपचारका क्रममा दुई दिन पछी ट्रमा सेन्टरमा मृत्यु भएको थियो । फेसबुकको ग्रुपबाट केही साथीलाई रिमुभ गरेको निहुँमा उनकै साथिहरुले हत्या गरेर फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राजधानीको गोंगवुस्थित गणेश हिमाल स्कुलमा कक्षा १० मा अध्ययनरत सुचिकारलाई एक परिचित युवतीले फुलबारीमा बोलाएकी थिईन् । परिचिती केटी साथीको निमन्त्रणालाई स्विकार गरेर फुलबारी चोक पुग्दा अन्य परिचित केटा सथिहरु पहिल्यै त्यहाँ पुगेको र उनलाई ईट्टा प्रहार गरेको बताईएको छ । प्रहरीका अनुसार सुचिकारले केही साथिहरुलाई फेसबुक ग्रुपबाट हटाएका थिए ।

प्रहरीका अनुसार सुचीकार लगायत केही युवाहरुले ‘गुहेश्वरी’ नामको एक फेसबुक ग्रुप बनाएका थिए । उक्त ग्रुपबाट सुचीकारले केही साथीलाई हटाएपछि बदला लिन उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी खड्काले जानकारी दिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS